खनिज तत्व र नुन आदिबाट मिर्गाैलामा बनेकोे कठोर डल्लोलाई मिर्गाैलाको पत्थरी भनिन्छ। हुन त मिर्गाैलाको पत्थरी हुनुमा धेरै कारक तत्वहरू जिम्मेवार छन्। तर हामीले खाने खानेकुराहरूको भूमिका ती सबै कारक तत्वहरूमध्ये मूख्य मानिएको छ।
मिर्गौलाको पत्थरी हुँदा के खाने वा नखाने भनेर निर्क्याैल गर्नुभन्दा पहिले हाम्रो शरीरमा बनेको पत्थरी कस्तो प्रकारको हो भनेर थाह पाउनु जरुरी छ। किनकि हामीले एक खालको पत्थरीको लागि राम्रो खानेकुरा अर्को खालको पत्थरीको लागि नराम्रो हुन सक्दछ। यसर्थ मिर्गौलाको पत्थरी हुँदा चिकित्सकलाई सोधेर कस्तो किसिमको पथ्थरी हो भनेर निर्क्याैल गर्नुपर्ने हुन्छ। एकचोटी पत्थरीको प्रकृति निर्क्याैल गरिसकेपछि अनि त्यसपछि मात्र के खाने र के नखाने भनेर छुट्याउनु पर्ने हुन्छ।
मिर्गौलामा बन्ने पत्थरी मूलतः चार प्रकारका छन्।
(क) क्यालसियम अक्जेलेट पत्थरी
(ख) क्यालसियम फस्फेट पत्थरी
(ग) यूरिक एसिड पत्थरी
(घ) सिस्टिन पत्थरी
(क) क्यालसियम अक्जेलेट पत्थरीमा के नखाने?
यो पत्थरी धेरै व्यक्तिमा देखिने पत्थरी हो। र, यस किसिमको पत्थरीको निर्माण पिसाबमा निहीत क्यालसियमसँग अक्जेलेट मिलेर अघुलनशील क्रिष्टल बनाएपछि हुने गर्दछ। क्यालसियम र अक्जालेट दुबै हामीले खाने धेरै खानेकुराहरूमा पाइने गर्दछ। यीमध्ये क्यालसियम हाम्रो शरीरका लागि चाहिने तत्व हो भने अक्जेलेटको उपयोग शरीरले गर्दैन। यसर्थ क्यालसियम अक्जेलेट पत्थरी हुन नदिनको लागि मुख्यतः उच्च अक्जेलेट भएको खानेकुराहरूलाई निषेध वा कम गर्नु पर्दछ। यसैगरी शरीरमै अक्जेलेट बन्न मद्दत गर्ने विभिन्न प्रकारका खानेकुराहरू पनि त्याग्नुपर्ने हुन्छ।
१. उच्च अक्जेलेट भएका खानेकुरा
– पालुङ्गो
– भाण्टा
– काजु, पिस्ता र बदाम
– कालो अङ्गुर
– च्याउ
– फर्सी
– काँक्रो
– गोलभेँडा
– अमला
– मिसो सुप
– बोक्रासहितको आलु
– चुकन्दर
– कोका पाउडर
– भिण्डी
– फ्रेन्च फ्राई
– रास्पबेरी
– स्टेभिया
– सूठुनी
२. चर्को नुन हालिएका खानेकुरा
आवश्यकताभन्दा बढी नुनको सेवन गर्दा नुनमा भएको सोडियमले पिसाबको रूपमा बाहिर गइरहेको पानीलाई पुनः अवशोषण गरी पिसाबलाई बाक्लो बनाउने गर्दछ। यसो हुँदा पिसाबमा क्यालसियमको मात्रा बढ्न गई अक्जेलेटसँग संयोग भई क्यालसियम–अक्जेलेट क्रिष्टल बन्ने गर्दछ। यसर्थ मिर्गौलाको पत्थरीबाट बच्नका लागि उच्च मात्रामा नुन, अजिनोमोटो हालिएका एवं तारे, भुटेको, चटपटे, फ्राइड फुड, जंङ्कफुड, बोतल र बट्टाबद्ध खानेकुरा आदिको सेवन गर्नु हुँदैन।
३. प्राणीजन्य खानेकुरा
माछा, मासु र अण्डाजस्ता जनावरबाट प्राप्त प्रोटिनको सेवनले पनि मिर्गौलाको पत्थरीलाई बढाउँदछ। यसर्थ जनावरजन्य खानेकुराहरू जस्तै माछा, मासु, अण्डा, दूध, दही, चिज, पनिर, बटर आदिको सेवन गर्नु हुँदैन।
४. ‘भिटामिन सी’जन्य खानेकुरा
उच्च मात्रामा ‘भिटामिन सी’को सेवन गर्दा पनि यसले शरीरमा अक्जेलेट उत्पादन गरी उच्च पत्थरी बनाउन मद्दत गर्दछ। यसर्थ प्रतिदिन भिटामिन सीको सेवन ५०० मिलिग्राम भन्दा धेरै हुनुहुँदैन।
(ख) क्यालसियम फस्फेट पत्थरीमा के नखाने?
पिसाबमा भएको क्याल्सियमले जब पिसाबमै भएको फस्फेट मिनरलसँग संयोग गरी बनाएको पत्थरीलाई क्याल्सियम फस्फेट पत्थरी भन्ने गरिन्छ। क्याल्सियम फस्फेटको पत्थरी भएकाहरूले अक्जेलेट भएको खानेकुराहरू खान सक्छन्। तर, उच्च फस्फेट भएको खानेकुराहरू खान सक्दैनन्।
जस्तै :
१. माछा, मासु, अण्डाजस्ता जङ्गम खाद्यः प्राणीबाट प्राप्त खानेकुराहरूमा उच्च मात्रामा फस्फोरस पाइन्छ। खाएको फस्फोरस रगत हुँदै पिसाबमा उत्सर्जित हुँदै गर्दा क्याल्सियमसँग प्रतिक्रिया गरेर क्याल्सियम फस्फेटको क्रिष्टल बनाउने गर्दछ।
२. दूध, दही, मही, चिज, पनिर, बटरजस्ता खानेकुरामा पनि उच्च मात्रामा फस्फोरस पाइने हुँदा पत्थरी बनाउन मद्दत गर्दछ।
३. सामुन्द्रिक खानेकुराहरू पनि फस्फोरसको उच्च स्रोत हो।
४. जङ्क फूड : जंङ्क फूडमा खानेकुरालाई सड्न नदिने तत्वको रूपमा फस्फोरस प्रयोग गरिएको हुन्छ। यसैगरी स्वाद बढाउन र आकर्षकको लागि पनि फस्फोरस प्रयोग गरिन्छ। यसर्थ जङ्क फूड, फाष्ट फूड, प्रोसेष्ड फूड, केन फूट आदिको सेवन गर्नु हुँदैन।
५. चर्को नुनको सेवन : उच्च मात्रामा नुनको सेवन गर्ने गर्दा यसले पिसाबलाई बाक्लो बनाउने हुँदा क्याल्सियम र फस्फोरसलाई प्रतिक्रिया गर्ने प्रबल सम्भावना बढाइदिन्छ।
(ग) युरिक एसिड पत्थरी हुँदा के नखाने?
रगतमा युरिक एसिडको मात्रा बढेसँगै युरिक एसिड पत्थरी हुने सम्भावना बढेर जान्छ। यसर्थ युरिक एसिड बढाउने निम्नलिखित खानेकुराहरू नखानुहोला।
१. माछा-मासु : युरिक एसिड पत्थरी भएका र युरिक एसिड बढेकाहरुले रातो मासु, फल मासु, ठूला जनावरका मासु, हाँसको मासु, टर्कीको मासु, मुुटु, कलेजो, मिर्गौला र गिदीजस्ता भित्री अङ्गको मासु खानुहुँदैन। रातो मासु र भित्री मासुमा प्युरिन न्यूक्लिक अम्लको मात्रा बढी हुने भएकाले यी पदार्थको सेवनले युरिक एसिडको मात्रा बढाउँछ।
२. समुन्द्री खाद्यान्न : विशेषगरी झिँगे माछा, प्राउन, लोवस्टोर, हेरिङ्ग, ट्यूना, एन्कोभिज प्र्रजातीका माछा तथा अन्य समुन्द्री वनस्पतिहरुबाट निर्मित खानेकुराहरुमा प्युरिन न्यूक्लिक अम्लको मात्रा बढी भएकाले युरिक एसिड बढ्दछ र युरिक एसिड पत्थरीमा खान राम्रो मानिँदैन।
३. मदिरा : युरिक एसिड बढ्दा रक्सी, ब्राण्डी, ह्वीस्की, रम जस्ता अल्कोहोलिक पेय सेवन सर्वथा बर्जित छ। मदिराजन्य पेयले शरीरमा युरिक एसिडको मात्र बढाउनुका साथैै शरीरमा बनेको युरिक एसिडलाई पिसाबबाट उत्सर्जन हुन पनि रोक्दछ।
४. कोल्ड ड्रिङ्कस् : कोकाकोला, पेप्सीकोला, स्प्राइट, फेण्टा, मिरिण्डाजस्ता कार्बोनेटेड र मधुराकृत पेय पदार्थहरुले युरिक एसिडलाई बढाउँछ। फ्रूक्टोज–स्वीटण्ड– ड्रिङ्कस मह पानी, सोडापानी पनि युरिक एसिडका लागि राम्रो होइन। यी पेयहरुमा प्रचुर मात्रामा फ्रूूक्टोज पाइन्छ। फ्रूक्टोजले एटीपीलाई एएमपीमा तोडेर युरिक एसिडको उत्पादनलाई बढावा दिन्छ।
५. गेडागुडी : दाल तथा गेडागुडीमा प्रशस्त मात्रामा प्युरिन न्यूक्लिक अम्ल पाइन्छ। यो अम्ल उपयोग पश्चात शरीरमा प्रशस्त युरिक एसिड बन्छ र युरिक एसिड पत्थरी हुन सक्दछ।
६. कुरिलो, फूलकोबी, बन्दाकोबी, पालुङ्गो, च्याउ र गोलभेंडाजस्ता सागपातमा अन्य सागपातमा भन्दा धेरै प्युरिन पाइन्छ। यसका अलावा यी फलफूल तथा तरकारीमा आक्जलेटको मात्रा पनि बढी पाइन्छ। यसर्थ यस्ता तरकारीको सेवन कुनै पनि प्रकारको पत्थरीका लागि राम्रो होइन।
७. जंक जङ्क तथा बेकरी उत्पादनमा सेचुरेटेड फ्याट धेरै हुन्छ। यसका अलावा जङ्क फूडमा हालिएको प्रिजरभेटिभले पनि रगतमा युरिक एसिडको मात्रालाई बढाउन र गौट बाथको विकृततालाई बढाई समस्या ल्याउन सक्छ। जङ्क फूड धेरै खाँदा तौल बढ्न गई युरिक एसिड बढ्ने समस्या आउँछ र पत्थरी बन्दछ।
८. अचार (पुरानो) तामा, गुन्द्रुक, सिन्की पनि युरिक एसिडका लागि राम्रो मानिँदैन। यस्ता खानेकुराको सेवनले रगतमा युरिक एसिड बढाएर युरिक एसिड पत्थरी बन्न सहयोग गर्दछ।
(घ) सिष्टिन पत्थरी हुँदा के नखाने?
प्रोटिन बनाउन प्रयूक्त हुने सिष्टिन एमाइनो एसिडको रक्त मात्रा बढी भएर पिसाबमा उत्सर्जित भएर बन्ने सिष्टिन पत्थरी अन्य पत्थरीभन्दा आकारमा ठूलो हुने गर्दछ र एकपछि अर्को बनिरहन्छ। यस किसिमको पत्थरीको मुख्य कारण सिष्टिन्युरिया भन्ने आनुवांशिक रोग हो। यद्यपि खानेकुराको पनि सिष्टिन पत्थरी गराउनमा विशेष भूमिका हुन्छ।
माछा, मासु, अण्डा, दूध, दही, चिज, पनिरजस्ता जङ्गम स्रोतका खानेकुराले यस किसिमको पत्थरी गराउनलाई सहयोग गर्दछ। यसैगरी अत्याधिक नुन प्रयोग भएका खानेकुराहरू जस्तै फ्रे¸फ्राई, आलु चिप्स, ससेज, पुरानो अचार आदिको सेवनले पनि सिष्टिन्युरियालाई बढाउँदछ।
यसैगरी कम पानी पिउनेहरूलाई पनि सिष्टन पत्थरी हुने सम्भावना रहन्छ। पानी कम पिउँदा पिसाबको अम्लता बढेर पत्थरी बन्ने गर्दछ।

























