चितवन, पुस १ । रत्ननगर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीले कार्यभारका लागि आज (बुधवार) सपथग्रहण गरेका छन्। संघको विधान अनुसार अध्यक्ष अनिल कृष्ण श्रेष्ठ बनेका छन्। उनी वरिष्ठ उपाध्यक्ष थिए। विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएकाले वरिष्ठ उपाध्यक्षसहित अन्य पदका लागि भने चुनाव भएको थियो।
वरिष्ठ उपाध्यक्ष शंकर गिरी, बाणिज्य तर्फको उपाध्यक्ष भीमनारायण श्रेष्ठ, उद्योग तर्फको उपाध्यक्ष पुरु खनाल, एसोसिएट उपाध्यक्ष राममणी थपलिया, महासचिव निराजन खनाल, कोषाध्यक्ष उपेन्द्र शर्मा आचार्य, उद्योग तर्फका सदस्यहरुमा अनुप विसुराल, सुवास मिश्र, उद्धबकुमार कोइराला, रामप्रसाद पाण्डे, महेन्द्र घिमिरे, विरञ्जना सापकोटा, बाणिज्य सदस्य तर्फका अर्जुन बस्ताकोटी, इश्वरी प्रसाद अर्याल, रामशरण नेपाल, सुन्दरमणि सुवेदी, सुरेन्द्र दुवाडी, सुर्य प्रकास रेग्मी, प्रकासमणि सापकोटा, उत्तम घिमिरे, महिला सदस्य तर्फकी निर्मला सुवेदी, बस्तुगत उपाध्यक्ष तर्फका रघुनाथ भट्ट, बस्तुगत सदस्य तफर्का शिबराज मैनाली र एसोसियट सदस्य तर्फका जोगेन्द्र महतो र लोजिककृष्ण सागरले पद तथा गोपनीयताको शपथ लिएका हुन्। सपथग्रहण कार्यक्रममा संघका पूर्व अध्यक्षहरु गोपाल कर्माचार्य, राजेन्द्र कुमार श्रेष्ठ, नारायणकाजीश्रेष्ठ, दिपक कर्माचार्य, ज्ञान बहादुर बिसुराल, निवर्तमान अध्यक्ष राजाराम रेग्मी लगाएका अतिथीहरुको उपस्थिति रहेको थियो।


मंगलबार सकिएको मतगणनामा रत्ननगर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा शंकर गिरी बिजयी भएका छन्। संघको २१औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनबाट कांग्रेस प्यानलबाट उमेदवारी दिएका देवेन्द्रकुमार श्रेष्ठलाई पराजित गर्दै गिरीको प्यानलले जित हात पारेको हो। जम्मा एक हजार ३२५ मतदाता रहेको संघमा सोमबार भएको निर्वाचनमा कूल एक हजार १९१ मत खसेको थियो। यातायात व्यवसायी गिरीले ६०४ मत प्राप्त गर्दा उनका प्रतिद्धन्दी श्रेष्ठले जम्मा ५४५ मत मात्रै प्राप्त गरेका थिए। संघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्न पाउने व्यवस्था भएकोले अध्यक्षबाहेकको पदाधिकारी र कार्यसमितिमा मात्रै निर्वाचन भएको हो।
निर्वाचन अधिकृत रामकृष्ण अधिकारीका अनुसार वाणिज्य तर्फको उपाध्यक्षमा भीमनारायण श्रेष्ठ बिजयी भएका छन्। श्रेष्ठले ५३७ मत प्राप्त गर्दा उनका प्रतिद्धन्दी कांग्रेस प्यानलका कविन घिमिरेले जम्मा ३७७ मत पाएका थिए भने स्वतन्त्र उमेदवारको रुपमा नेकपाको वागी उम्मेद्वार देवीप्रसाद डल्लाकोटीले २१३ मत प्राप्त गरेका थिए। त्यस्तै उद्योगतर्फको उपाध्यक्षमा पुरु खनाल बिजयी भएका छन्। उनले ५८९ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी कांग्रेस निकटका निरञ्जन थापाले ५४१ मत पाएका थिए।
महासचिवतर्फ निराजन खनालले ६१० मत प्राप्त गर्दै जित हात पारेका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेस प्यानलका माधवप्रसाद पौडेलले जम्मा ४६० मत प्राप्त गरे। एसोसियटतर्फको उपाध्यक्षमा राममणी थपलियाले ६६ मत प्राप्त गर्दै जित हात पारेका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेस निकटका हरि अधिकारीले जम्मा ५३ मतमात्रै प्राप्त गरे। कोषाध्यक्षमा उपेन्द्र शर्मा आचार्यले ६४० मत प्राप्त गरेर जित सुनिश्चित गरे भने उनका प्रतिद्वन्द्वी कांग्रेस निकटकी मीना उप्रेतीले जम्मा ४७३ मत हात पारिन्।


























