काठमाडौं, मंसिर २३ । सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ। यसअघि ८ हजार ८४८ मिटर मानिँदै आएको सगरमाथाको नयाँ उचाइ ८ हजार ८४८.८६ मिटर रहेको घोषणा गरिएको हो।
नेपाल र चीनले मंगलबार संयुक्त रुपमा एक कार्यक्रम गरी सगरमाथाको नयाँ उचाइ घोषणा गरेका हुन् । भर्चुअल माध्यमबाट भएको उक्त कार्यक्रमका बीच पररष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीले उक्त तथ्य सार्वजनिक गरेका हुन्। यसअघि दुवै देशले सगरमाथाको उचाइ फरक-फरक दाबी गर्दै आएका थिए।
मंसिर १० गते बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयलाई स्वीकृति दिएको थियो।
सन् २०१९ मा चीनका राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गर्ने क्रममा दुई देशले संयुक्त रुपमा सगरमाथाको उचाइ मापन गर्ने सहमति भएको थियो। तर, नेपाल र चीनले छुट्टाछुट्टै मापन गरे पनि घोषणा भने सँगै गरेका हुन्। नेपालले आफ्नै संयन्त्र परिचालन गरेर पहिलोपटक सगरमाथाको उचाइ नापेको हो।
यसअघि सर्वे अफ इन्डियाले सन् १९५४ मा सगरमाथाको उचाइ मापन गरेको थियो। सोही उचाइ नै अहिलेसम्म कायम थियो । अब सगरमाथाको नयाँ उचाइ लागू हुनेछ।
























