चितवन, मंसिर २० । विश्वभर ४ करोड ५८ लाखभन्दा बढी कोरोना संक्रमित निको भएका छन्। पछिल्लो २४ घण्टामा ४ लाख २१ हजार ३७७ संक्रमणमुक्त भएसँगै ४ करोड ५८ लाख ८ हजार २२९ जना कोरोनाबाट निको भएकाछन्। यस्तै संक्रमणले मृत्यु हुनेको संख्या १५ लाख नाघेको छ। दोस्रो लहरको संक्रमणले तीब्र हुँदा मृतक संख्यामा दिनदिनै नयाँ रेकर्ड कायम भइरहँदा ज्यान गुमाउनेको संख्या १५ लाख नाघेको हो।
शनिबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १२ हजार १२६ संक्रमितको मृत्यु भएको छ। योसँगै विश्वभर १५ लाख २३ हजार ५६१ संक्रमितको मृत्यु भएको छ। २१८ मुलुकमा फैलिएको संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ लाख ८४ हजार ५३७ जना संक्रमित भएका छन्।
योसँगै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ८८ लाख ८९ हजार ८३६ पुगेको छ । यसमध्ये १ लाख ६ हजार ८४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ। यो समाचार तयार पार्दासम्म कुल संक्रमितको संख्या ६ करोड ६२ लाख ११ हजार ४७९ पुगेको छ।


























