काठमाडौँ, मंसिर ११ । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले दुई दिने भ्रमणका लागि आज नेपाल आउँदैछन्। श्रींगलाको यो भ्रमण नेपाल र भारतबीच हुँदै आएको उच्चस्तरीय भ्रमणकै निरन्तरता रहेको पराराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमणको पहिलो दिन आज विदेश सचिव श्रींगलाले नेपाल र भारतका दुइपक्षीय सहयोगका विषयमा छलफल गर्ने छन्। यसका लागि आजै दुई देशका प्रतिनिधिबीच उच्चस्तरीय बैठक समेत हुने छ।
भ्रमणका अवसरमा उनले कोरोना रोकथाम सम्बन्धी सहयोग सामग्रीसमेत हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। केही साताअघि भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले गरेको भ्रमणपछि भारतीय उच्चस्तरीय अधिकारीको यो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
नेपाल र भारतबीच कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतका विषयमा विवाद भइरहेका बेला भारतीय पक्षबाट भइरहेका यस किसिमका उच्चस्तरीय भ्रमणले वार्ताको वातावारण बनाउने विश्वास गरिएको छ।


























