मंसिर १० । अहिले जाडोको मौसम सुरु भएको छ। यो समयमा शहरी क्षेत्रमा बसोबास गर्नेहरु धेरैको खाजाको रोजाई मम हुन सक्छ। हुनपनि मम नेपालीहरूमाझ लोकप्रिय खाजा बनेको छ।
छिटो मिठो भएकाले पनि मानिसहरूको रोजाईमा मम पर्ने गरेको हो। तर स्वास्थ्यको हिसाबले मम गतिलो कुरा हैन। चिकित्सकहरु भन्छन्, ‘मम धेरै खायो भने रक्तचापको समस्या हुनसक्छ।’
रक्तचापको परीक्षण १२०/८० एमएमएचजीका आधारमा गरिन्छ। यहाँ १२० अंक सिस्टोलिक रक्तचाप हो र यसलाई सामान्य भाषामा हाई प्रेसर भनिन्छ। अनि तलको रक्तचापलाई डाइस्टोलिक भनिन्छ अर्थात् लो प्रेसर।
वृद्ध व्यक्तिहरूमा सिस्टोलिक रक्तचाप विशेषगरी बढ्छ र लगभग १६०र८० हुन सक्छ। युवामा १४० सिस्टोलिकभन्दा माथिको रक्तचाप र वृद्धहरूमा १५० भन्दा बढी रक्तचाप भएमा एकदमै ध्यान दिनुपर्ने हुन्छ।
चिकित्सकहरूका अनुसार, अत्यधिक मात्रामा फास्टफूड खाँदा युवामा उच्च रक्तचापको समस्या निकै बढिरहेको छ। तनावपूर्ण जीवनशैली, अनियमित खानपान, फल र तरकारीको साटो मम जस्ता फास्टफूडको सेवन, चिल्लो र नूनिलो खानेकुरा खाने बानी, निष्क्रिय जीवनशैलीका कारण रक्तचापको समस्या बढिरहेको छ। अहिले २० देखि ४० वर्षको उमेरका मानिस उच्च रक्तचापको समस्याबाट पीडित छन्।
उच्च रक्तचाप आफैंमा एक रोग हो अनि यसले शरीरका अन्य अंगलाई पनि नराम्रो प्रभाव पार्छ। मुटु, कलेजो र मिर्गौलालाई यसले घात गर्छ। आँखालाई पनि यसले हानि गर्छ । उच्च रक्तचापका कारण दिमागका नसाहरू फाट्ने सम्भावना हुन्छ।
रक्तचाप सन्तुलनमा राख्नका लागि मम लगायतका खानेकुरा कहिलेकाहीँ मात्र खाने गर्नुपर्छ। नियमित रूपमा रक्तचापको परीक्षण गर्नुपर्छ । स्वास्थ्यस्थितिमा परिवर्तन आउनेबित्तिकै चिकित्सकको परामर्श लिइहाल्नुपर्छ।
लसुन खाएमा रक्तचापको समस्या निदान हुन्छ किनकि यसले रगत जम्नै दिँदैन र कोलेस्ट्रोलाई नियन्त्रण गर्छ। एक ठूलो चम्चामा अमलाको रस र मह बराबर मिसाएर बिहान बेलुका पिउँदा उक्त रक्तचापमा राहत पुग्छ। रक्तचाप बढेको छ भने आधा गिलास तातो पानीमा एक चम्चा मरिचको धूलो हालेर दुई दुई घन्टाको फरकमा पिउने गर्नुस्। एजेन्सी
























