काठमाडौं, कार्तिक १५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीसँग तत्काल सचिवालय बैठक बोलाउन माग गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच करिब ११ दिनपछि शनिबार भेटवार्ता भएको हो। भेटका क्रममा प्रचण्डले तत्लका सचिवालय बैठक बोलाउन ओलीलाई दबाब दिएको स्रोतले बताएको छ।
स्रोतका अनुसार आजको छलफलमा समसामयिक विषयवस्तु छलफल भएको छ। जसमा कोभिड महामारीको नियन्त्रण तथा रोकथाम र सरकारको भूमिका, कर्णाली विवाद प्रकरण, रअ प्रमुख सामान्तकुमार गोयलसँगको भेट र पर्साको मुकेश चौरसिया घटना प्रकरणका विषयमा छलफल भएको छ।
यी विषयलाई सचिवालय बैठक बोलाएर छलफल गर्नुपर्ने माग प्रचण्डले गरेका हुन्। सचिवालय बैठक बोलाउन प्रधानमन्त्री ओली सकारात्मक भएको नेकपाका उपनेता सुवास नेम्वाङले जानकारी दिएका छन्।
उनले भने, ‘सचिवालय बैठक फेसनका लागि होइन। आवश्यकताका लागि बस्ने हो। अहिले कोरोना महामारी थप बढ्दै गएको छ। सचिवालय बैठक आवश्यकता अनुसार बस्नका लागि प्रधानमन्त्री सकारात्मक नै हुनुहुन्छ।’
पार्टी प्रवक्ता नारायकाजी श्रेष्ठले दुबै अध्यक्षलाई सचिवालय बैठक बोलाउनका लागि लिखित पत्र नै बुझाएका छन्। यसअघि ओली-प्रचण्डबीच कात्तिक ४ गते कर्णाली प्रदेशको विवाद सल्ट्याउने सन्दर्भमा भेट भएको थियो।


























