चितवन, कार्तिक ५ । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने घोषणा गरेका छन्। केन्द्र सरकारले कोरोना संक्रमितको उपचार खर्च आफैँले व्यहोर्नुपर्ने निर्णय सार्वजनिक गरेको भोलिपल्ट मेयर नारायण वनले नगरभित्रका कोरोना संक्रमितको उपचार नगरपालिकाले गर्ने घोषणा गरेका हुन्।
रत्ननगर नगरपालिका वडा नं १५ को नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा बोल्दै मेयर वनले अहिलेको प्राथमिकता नगरवासीको जीवनरक्षाको भएकाले संक्रमितको उपचार निःशुल्क गर्ने घोषणा गरे। कोरोना संक्रमितको निःशुल्क उपचारको लागि मुख्यमन्त्रीलाई आग्रह गरेको भन्दै उनले कथंकदाचित प्रदेशले नगरे रत्ननगरले नै संक्रमितको निःशुल्क उपचार गर्ने बताए।
उनले दसैँलगत्तै कार्यपालिकाको बैठक बोलाएर संक्रमितको निःशुल्क उपचार गर्ने एकमात्र प्रस्ताव पारित गर्ने बताए। प्रदेश सरकारले ग¥यो भने भइहाल्यो, नगरे पनि यो विषयमा आफूहरु नचुक्ने उनको भनाइ छ। आर्थिक अवस्था कमजोर भएर कोरोनाको उपचार नपाएर कुनै पनि नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिने उनले बताए।


























