काठमाडौं, असोज ३० । नेकपा कर्णाली प्रदेशका पदाधिकारीसँग पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका छन्। कर्णालीका सहइन्चार्ज यामलाल कँडेल र नेकपा संसदीय दलका निलम्बित प्रमुख सचेतक गुलाबजंग शाहले शुक्रबार पार्टीका अध्यक्ष दाहालसँग भेटघाट गरेका हुन्। कँडेल र शाह दुवैले पार्टी अध्यक्ष प्रचण्डसँग भेटघाट तथा छलफल भएको जानकारी दिए।
‘पार्टी अध्यक्ष प्रचण्डजीसँग भेटघाट भयो। कर्णालीको विषयमा छलफल भयो,’ कँडेलले भने। उनले भेटघाटका विषयमा थप खुलाउन भने चाहेनन्। ‘अरु सेयर गर्ने कुरा छैन,’ उनले भने। यस्तै निलम्बित प्रमुख सचेतक शाहले पनि मिडियामा बोल्न पर्ने कुनै पनि विषय नभएको बताए।
यस्तै कर्णाली विद्रोहका विषयमा छलफल गर्न प्रदेशका मुख्य नेताहरूलाई प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले छलफलका लागि पत्र काटेर नै बोलाएका छन्। यद्यपि उनीहरूसँग भेटघाटका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले समय दिएका छैनन्।
‘कर्णाली विद्रोह’ प्रकरणमा प्रधानमन्त्री ओलीले बोलाएकामा मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्मा, सह–इन्चार्ज एवं प्रदेश सभा सांसद यामलाल कँडेल, सह–इन्चार्ज एवं आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, केन्द्रीय सदस्य एवं सह–इन्चार्ज कालीबहादुर मल्ल छन्। प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा, सासद चन्द्रबहादुर शाही, निलम्बित सचेतक गुलाबजंग शाहीलगायत कर्णाली विद्रोहमा सामेल भएका नेताहरुलाई पत्र काटिएको एक प्रदेशसभा सांसदले बताए।
प्रधानमन्त्रीले पत्र काटेका सबैजसो काठमाडौं आइपुगेका छन्। तर, केन्द्रीय सदस्य कालीबहादुर मल्ल कर्णाली विद्रोहमा सहभागी नभएकाले पत्र काटे पनि आएका छैनन्। कर्णाली विद्रोह भएका ओली पक्षका नेताहरुले अविस्वास प्रस्ताव फिर्ता नलिएको बताइरहेका छन्। त्यो विद्रोहलाई ओली पक्षले कसरी सल्टाउने भन्ने विषयमा निष्कर्षमा नपुगेकाले छलफल नभएको एक प्रदेशसभा सदस्यले बताए।
‘कर्णाली विद्रोह कसरी सल्टाउने भनेर अर्का अध्यक्ष प्रचण्डले सोध्दा प्रधानमन्त्री चुपचापजस्तै हुनुहुन्थ्यो। खै मलाई थाहा छैन कसरी सल्टाउने सोचौँला भन्नु भएको थियो,’ ती नेताले भने, ‘जब सुर्खेत पुगेका केन्द्रीय सदस्य आचार्यले अविश्वास प्रस्ताव असफल बनाए, प्रधानमन्त्री ज्यूले पत्र काटेर काठमाडौँ बोलाउनु भयो।’
अहिले प्रधानमन्त्री ओलीले आफू पक्षका नेताहरु बोलाएर कर्णाली विद्रोह कसरी सल्टाउने भन्ने विषयमा परामर्श गरिरहेको अर्का एक नेताले बताए। कर्णाली विद्रोह सल्टाउने उपाय ओलीले पाउने बित्तिकै छलफल सुरु हुने ती नेताले बताए।


























