काठमाडौं, असोज २४ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको तीन घन्टा लामो छलफल परिणामविहीन बनेको छ। प्रधानमन्त्रीलाई भेट्न करिब १२ बजे बालुवाटार पुगेका प्रचण्ड ३ बजे बालुवाटारबाट बाहिरिएका छन्।
बालुवाटार स्रोतका अनुसार आजको छलफल पार्टीको सांगठनिक एकीकरणका बाँकी काम टुंग्याउने विषयमा केन्द्रित भए पनि अध्यक्षद्वयबीच कुनै सहमति हुन सकेन। यस्तै छलफलमा मन्त्रिपरिषद् पुनर्गठनको प्रसंग आए पनि प्रधानमन्त्री ओलीले यसबारे कुनै प्रतिक्रिया नदिएको प्रचण्डनिकट स्रोतले जनाएको छ।
गत भदौ २६ मा बसेको स्थायी कमिटीको बैठकपछि नियमित छलफलमा रहेका प्रधानमन्त्री ओली र प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन, पार्टी एकीकरणका बाँकी काम सक्ने र संवैधानिक तथा राजनीतिक नियुक्तिका विषयमा कुनै निर्णय गर्न सकेका छैनन्।


























