काठमाडौं, असोज २३ । सरकारी वार्ता टोलीले समय नदिँदा आमरण अनसनमा रहेका डा.गोविन्द केसी र सरकारी पक्षबीच शुक्रबार हुने भनिएको वार्ता अनश्चित बनेको छ। शुक्रबार बिहानैदेखि पुनः छलफल गर्ने गरी बिहीबार राति सकिएको वार्ता सरकारी वार्ता टोलीले समय नदिँदा अनश्चित बनेको हो।
डा.गोविन्द केसी पक्षधरहरुले बिहीबारको वार्तामा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा ‘वरिष्ठता मिचेर’ नियुक्त भएका डिन डा.दिव्या सिंह र डा.दिनेश काफ्लेको बर्खास्तीको माग गरेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक समेत रहेकी डा.सिंहको बर्खास्तीको विषय आएपछि सरकारी पक्षले त्यस विषयमा प्रधानमन्त्रीसँग परामर्श गरेर मात्रै जवाफ दिने बताएको थियो।
सरकारी वार्ता टोलीले आन्तरिक गृहकार्य र प्रधानमन्त्रीसँग छलफल गर्नुपर्ने कारण देखाउँदै शुक्रबारको वार्ताका लागि समय उपलब्ध नगराएको डा.केसीको पक्षबाट वार्तामा सहभागी एक ससदस्यले जानकारी दिए। डा.केसीले आफ्नो १९ औं चरणको आमरण अनसनमा वरिष्ठता मिचेर भएका नियुक्तिहरु खारेजीको मागलाई प्रमुखताका साथ उठाएका छन्।
‘अन्य विषयमा वार्ता लगभग सकारात्मक नै छ। तर, वरिष्ठता मिचेर भएका नियुक्तिहरु सच्याउने विषयमा सरकारी पक्षले रुची देखाएको छैन,’ डा.केसीका तर्फबाट वार्तामा सहभागी सदस्य भन्छन्।
बिहीबार दिनभर गरी करिब १० घण्टासम्म दुई पक्षबीच चलेको वार्तामा सहमतिका लागि भनेर पहिलो मस्यौदा समेत तयार भएको जनाइएको छ। तर, मस्यौदाका सन्दर्भमा दुवै पक्षले अन्तिम सहमति भने जनाइसकेका छैनन्।
‘मोटा–मोटी सहमति बनेको हो। त्यहिअनुसार बनेको मस्यौदामा थप छलफल गर्ने भनेर शुक्रबार वार्तामा बस्ने भनिएको हो,’ डा.केसीको तर्फबाट वार्तामा सहभागी सदस्य भन्छन्।


























