काठमाडौं, असोज २३ । चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा.गोविन्द केसीका प्रतिनिधि र सरकारी टोलीबीचको आज पुनः वार्ता हुने भएको छ। बिहीबार सिंहदरवारस्थित शिक्षा मन्त्रालयमा भएको वार्तामा डा केसीले उठाएका मागका विषयमा छलफल भएको थियो। छलफलले डा.केसीका ६ बुँदे मागलाई बुँदागत रुपमा सम्बोधन गर्ने गरी पहिलो मस्यौदा तयार पारेको बताइएको छ। तर अन्तिम निष्कर्षमा भने पुग्न नसिकएको एक सदस्यले बताए।
वार्तामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपिनाथ मैनाली संयोजकत्वको र डा.केसीको पक्षबाट डा जीवन क्षेत्रीको नेतृत्वको टोलीले वार्ता गरेको हो।
बिहीबार नै सहमतिमा पुग्ने प्रयास गरिए पनि दुवै पक्षले थप छलफल आवश्यक परेको भन्दै शुक्रबार पुनः वार्ता गर्ने तय भएको बताइएको छ। डा.केसी अनसन बसेको २५औं दिनमा सरकारले वार्ता सुरु गरेको हो। बुधबार दुवै पक्षले वार्ता टोली गठन गरेका थिए।


























