काठमाडौं, असोज ४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी कमिटी बैठकको निर्णय अनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा आइतवार बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनको नीतिगत निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
२०७५ जेठ ३ गते पार्टी एकता पछि नेकपा सचिवालय बैठक पहिलो पटक पेरिसडाँडामा बसेको हो। बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायत सचिवालयका सबै सदस्यहरु बैठकमा उपस्थित थिए। भदौ २६ गते बसेको नेकपा स्थायी कमिटी बैठकले चैत २५ देखि ३० गतेसम्म पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको थियो।
‘मन्त्रिपरिषद् पुनर्गठन स्थायी कमिटीको निर्णयानुसार गर्ने तय भएको छ। पुनर्गठनका सन्दर्भमा सचिवालयले विभिन्न नीतिगत रूपमा सुझाव दिएको छ, त्यसबारेमा व्यक्तिको नाममा प्रवेश गरेका छैनौं। आवश्यक परे त्यसबारे पनि छलफल गछौं,’ श्रेष्ठले भने।


























