काठमाडौं, भदौ २८ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आज सकिन लागेको छ। प्राधिकरणको कार्यकारी पद आजदेखि खालि भए पनि प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिको प्रस्ताव अझैसम्म पनि क्याबिनेट नगएको ऊर्जा मन्त्रालयले जनाएको छ।
चार वर्षअघि २९ भदौ २०७३ मा विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पद सम्हालेका घिसिङको कार्यकाल सकिएसँगै प्राधिकरणको नेतृत्व सम्हाल्न एक महिना अघिदेखि नै दौड सुरु भइसकेको छ। प्राधिकरणको आगामी चारवर्षे कार्यकालका लागि पुन कुलमान घिसिङलाई जिम्मेवारी दिने सम्भावना रहेको स्रोतले बताएको छ। मन्त्रालय स्रोतका अनुसार, ऐनअनुसार तीन जनाको नाम सिफारिस गर्नुपर्ने हुन्छ, विद्युत् प्राधिकरणको कार्यकारी पदमा पुनर्नियुक्ति भन्दा पनि नयाँ नियुक्ति गर्नुपर्ने भएका कारण आज कार्यकाल सकिए पनि २९ भदौसम्म निर्णय हुनेछ।
घिसिङको कार्यकाल सकिनुभन्दा एक महिना अघिदेखि सामाजिक सञ्जालमा घिसिङलाई नै आगामी कार्यकालका लागि जिम्मेवारी दिनुपर्ने जोडदार माग उठिरहेको छ। सर्वसाधारण, कलाकारदेखि उनको पक्षमा रहेका नेता कार्यकर्तासमेत रहेका छन्।
यसबीच ऊर्जा मन्त्रालय पनि प्राधिकरणमा घिसिङलाई नै निरन्तरता दिने पक्षमा सकारात्मक रहेको स्रोतले बतायो। यसअघि ऊर्जामन्त्री पुनको प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग भएको अनौपचारिक छलफलमा घिसिङलाई नै निरन्तरता दिने पक्षमा प्रधानमन्त्री ओलीसमेत सकारात्मक देखिएको स्रोतले बताएको छ। त्यस्तै, नेकपाका अर्का अध्यक्ष पनि घिसिङको विकल्प खोज्ने पक्षमा नरहेको स्रोतले बतायो।
दैनिक १८ घण्टाको लोडसेडिङ अन्त्य गर्न प्रमुख भूमिका निर्वाह गर्दै आमजनमानसमा लोकप्रिय बनेका घिसिङ आफैं एक कार्यकाल दोर्याउन चाहन्छन्। घिसिङले प्राधिकरणको ३५औं वार्षिक साधारण सभामा प्रसारण लाइन, भारत र बंगलादेशमा विद्युत् बिक्रीलगायतका योजना कार्यान्वयनका लागि कार्यकाल थपको मनसाय राखेका थिए। केही दिन अघिदेखि सामाजिक सञ्जालमा पनि उनकै कार्यकाल दोहो(याउनुपर्ने जोडदार माग हुँदै आएको छ।
प्राधिकरणको भावी नेतृत्वका लागि विद्युत् विकास विभागका महानिर्देशक नवीन सिंह रहेका छन्। प्राधिकरणको इन्जिनियरिङ कम्पनीका प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्य, प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेश काफ्ले रहेका छन्। घिसिङले प्राधिकरणलाई सरकारी संस्थानमा पहिलो नम्बरमा ल्याउन गरेको योगदान, प्राधिकरणमा भएका सुधारको मूल्यांकन गर्दै अहिले प्राधिकरणको नेतृत्वका लागि कुलमान घिसिङको अर्को विकल्प नरहेको भन्दै चौतर्फी माग रहेको छ।
प्राधिकरणमा अब आउने नेतृत्वका लागि चुनौती पनि उत्तिकै रहेका छन्। प्रसारणलाइनको निर्माण, उत्पादित विद्युत् खपत बढाउने, गुणस्तरीय बिजुली उपभोक्तासम्म पु(याउनुपर्ने, चार वर्षअघि करिब ९ अर्ब घाटामा रहेको विद्युत् प्राधिकरण लगातार चार वर्ष नाफामा गएको छ। घिसिङले नेतृत्व सम्हालेलगत्तै ठूलो घाटामा रहेको प्राधिकरणले नाफा आर्जन गर्न सुरु गरेको थियो। २०७३ भदौमा कार्यकारी निर्देशकमा रूपमा प्राधिरकणमा प्रवेश गर्दा वार्षिक ८ अर्ब ८९ करोड घाटामा रहेको संस्था आएको ११ महिनामै घाटा हटाउँदै १ अर्ब ४७ करोड नाफा आर्जन गरेको थियो। त्यसपछि गत आर्थिक वर्ष ९२०७६र७७० सम्म आइपुग्दा ११ अर्ब ६ करोड नाफा गएको छ।


























