सञ्जय चौधरी, चितवन, भदौ २५ । जितिया आउनुअघि नै चितवनका थारु समुदायमा चहलपहल र रमझम शुरु हुन्थ्यो तर यस वर्ष कोरोना (कोभिड १९) को प्रकोपले जितियाको चहलपहल छैन। थारुहरुको बाक्लो बसोबास रहेको चितवनको पूर्वी क्षेत्र, पश्चिम र माडी क्षेत्रमा जितियाको विशेष उल्लास हुन्थ्यो। कोरोना (कोभिड १९) का कारण थारु समुदायका महिलाहरु झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाउन सकिरहेका छैनन्। बिहानै नुहाईधुवाई गरी बेलको पात टिपेर दिनभर महिला तथा युवतीहरु यो पर्व आआफ्नो घरमा सुरक्षित रहेर भौतिक दूरी कायम राख्दै घरपरिवारमा सीमित भई मनाइरहेका छन्। विगतका वर्षहरुमा विहान दर खाएपछि महिलाहरु एक ठाउँमा गीत गाउँदै रमाइलो गरिरहेको देख्न सकिन्थ्यो। तर यसवर्ष कोरोना प्रकोपले जितियाको चहलपहल छैन।
चितवनको पूर्वी क्षेत्र रत्ननगर, कालिका, खैरहनी, राप्ती नगरपालिका, भरतपुर महानगरपालिकाको मेघौली र माडीमा जितियाको रौनक छैन। योवर्ष भिडभाड हुने गरेर सामूहिकरूपमा कुनै पनि पर्व नमनाउन थारु कल्याणकारिणी सभा (थाकस) चितवनले अपिल गरेको छ। थारु समुदायका महिलाले भाद्र कृष्ण अष्टमीमा जितिया पर्व मनाउँछन्। जितियामा सामूहिक नाचगान र पूजा हुन्छ। अविवाहितले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै व्रत बस्ने गर्छन्। यो पर्वमा चेलीबेटीलाई निम्ता गरी बोलाउने र लिन जाने (लेलहारी) गर्ने चलन छ। यस्तै जितियामा कोसेली (पहुरच) पुर्याउने चलन पनि छ। कार्यविधिमा सामूहिकरूपमा केही पनि नगर्न भनिएको छ।
यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमीमा तीन दिन मनाइन्छ। सप्तमीको दिनलाई ‘लाहा खाएके’, अष्टमीको दिनलाई ‘उपास’ र नवमीको दिनलाई ‘पारन’ भनिन्छ। आज नवमीको दिनमा महिलाहरू बिहानै नुहाईधुवाई गरी सफा र चोखो कपडा लगाई दिनभर पानी पनि नखाई निराहर ‘उपास’ ब्रत बस्ने गर्दछन्। बेलुकीपख ब्रतालुहरु फेरि खोलामा गई पिनाले नुहाई पातमा पिना बगाउँछन्। त्यसपछि बेलुकीपख सबै ब्रतालु महिला जम्मा भएर कथा श्रवण गर्ने प्रचलन छ। रुखको चारैतिर ब्रतालु महिलाहरू फलफूल, पानी, दूध, दही साथै बिहान भिजाएको मास र चामल लिएर बस्छन्।
बिगतका वर्षहरुमा गाउँको कुनै एक भद्र पुरुषले जीतबाहनको कथा (जितिया ब्रत कथा) घण्टौं लगाएर सुनाउँथे। कथा सकिएपछि सबै जना घर गएर ‘फराहर’ गर्थे। भोलिपल्ट अर्थात् दशमीको दिन सबेरै सबै ब्रतालु खोलामा नुहाएर निराकार प्रतिमूर्ति (जसलाई थारु भाषामा ‘गरग्वाङ’ भनिन्छ) प्रतिमूर्ति बनाएर मासको गेडाले पूजा गर्छन्। खोलाबाट घर आइसकेपछि ब्रतालुहरुले दही चिउरा, केरालगायतका खानेकुरा खान बस्छन्। तर खानुभन्दा अगाडि गुइठाको अङ्गारमा काठको धूप बालेर सबै खानकीको केही अंश चढाएर मात्र खान्छन्। त्यसलाई ‘पारन’ भनिन्छ। त्यसपछि भने ब्रत सकिएसँगै जितिया पर्व सकिन्छ। हिन्दु धर्मालम्बी नेपाली महिलाहरुले मनाउने तीज जस्तै थारु समुदायले यो जितिया पर्वलाई महत्त्वका साथ मनाउने गरेका छन्।
तर, काेराेना कहरका कारण यसवर्ष थाकस चितवनले कार्यविधिमा भिडभाड र सामूहिकरूपमा पर्व नमनाई घर परिवारमा सीमति रहेर कोरोनाबाट जोगिन जोड दिएकाले जितिया ब्रत कथा कसरी सुन्ने बारे थारु समुदायका महिलाहरुमा अन्योल छ। थारु समुदायले दिवङ्गत पितृको सम्झनामा असोज मिहनाको १ गते ‘एमोसा’ (पितृ औँसी) मनाउँछन्। यसमा समूह बनाई एकअर्काको घरमा खाना खाने प्रचलन छ। यो पटक त्यो पनि नगर्न भनिएको छ। दसैँ अनि त्यसपछि तिहारका बेला हुने पूजामा पनि घर परिवारमै सीमित हुन सभाले अनुरोध गरेको छ।


























