काठमाडौं, भदौ २१ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २८९ पुगेको छ।
मन्त्रालयका अनुसार मोरङ र झापाकी २ महिला, मोरङका, पर्सा, धनुषा, चितवनका एक(एक पुरुष र काठमाडौंका तीन पुरुष गरी ७ जनाको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन्।
मन्त्रालयको तथ्यांक अनुसार एक सातामा ७३ जनाले ज्यान गुमाएका छन्। गत आइतबारयता शनिबारसम्मको तथ्यांक अनुसार ७३ जनाले ज्यान गुमाएका हुन्।
यसअघि (हिजो) शनिबार ३ महिला र ६ पुरुष गरी ९ जनाको कोरोनाले मृत्यु भएको थियो। जसमा मोरङकी ४३ वर्षीया महिला, मकवानपुरकी ५२ वर्षकी एक महिला र नवलपरासीकी ३७ वर्षकी महिला थिए।
यसैगरी पर्साका ७५ वर्षका एक पुरुष, महोत्तरीका ७८ वर्षका एक पुरुष, काठमाडौंका ४१, ५९ र ६५ वर्षका तीन पुरुष र रुपन्देहीका ४० वर्षका एक पुरुषको मृत्यु भएको थयो।


























