चितवन, भदौ २१ । पूर्वी चितवनको रत्ननगरमा रहेको बकुलहर रत्ननगर अस्पतालमा १५ दिन भित्रमा पिसिआर मेसिन जडान गरिने भएको छ। वाग्मती प्रदेश सरकारका सामाजिक विकासमन्त्री युवराज दुलालले रत्ननगरसहित पाँच ठाउँका अस्पतालमा पिसिआर मेसिन जडान गरिने जानकारी दिए।
उनले सिन्धुली, भक्तपुर, नुवाकोट र हेटौँडामा पनि पिसिआर मेसिन जडान एवं थप गर्न लागिएको बताए। उनले भने, “हामीले चारवटा खरिदका लागि प्रक्रिया अघि बढाइसकेका छौँ। एउटा सङ्घीय सरकारले दिँदैछ।”
पिसिआर जडान गरिने अस्पतालमा संरचना निर्माण र कर्मचारी व्यवस्थापनको काम भइरहेको उनले जानकारी दिए। प्रदेश सरकारले पिसिआर मेसिन जडान हुने रत्ननगर बकुलहर अस्पतलामा संरचना निर्माण र सञ्चालनका लागि पनि बजेट विनियोजन गरेको जनाएको छ।
यस्तै भरतपुर महानगरपालिकालाई उपकरण खरिद र आइसोलेसन सञ्चालनका लागि सहयोग गर्न लागिएको मन्त्री दुलालको भनाइ छ। पूर्वी चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकाले रत्ननगर बकुलहर अस्पतालमा पिसिआर मेसिन जडानका लागि प्रदेश सरकारसँग अनुरोध गरेका थिए। स्वाब परीक्षणको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाबाट नतिजा आउन एक साताभन्दा बढी समय लागेपछि त्यहाँ पिसिआर प्रयोगशाला सञ्चालन गर्न स्थानीय तह जुटेका हुन्।
रत्ननगर अस्पताल प्रदेश सरकारको मातहतमा छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेले पिसिआर मेसिन आउने भएपछि ठाउँ र कर्मचारीको व्यवस्थापन अघि बढाइएको बताए। उनले भने, “यस अस्पताल प्रदेश सरकार मातहत भएकाले प्रदेशको निर्देशनअनुसार अब काम अघि बढाउँछौ।” पिसिआर मेसिन जडान भएसँगै कोरोना रोग नियन्त्रण, रोकथाम र उपचारमा सहयोग हुने राप्ती नगरपालिका प्रमुख प्रभा बरालले जानकारी दिइन। उनका अनुसार त्यहाँका चारवटा नगरपालिकाले सामूहिक रुपमा आइसोलेसनसमेत सञ्चालन गर्दै आएका छन्। रासस


























