काठमाडौं, भदौ १७ । सरकारले कोभिड–१९ को संक्रमण समुदायस्तरमा फैलिएको भन्नेबारेमा अध्ययन गर्ने भएको छ। कोभिड–१९ को संक्रमण सबै समूहका मानिसमा देखिरहेको र ट्राभल हिस्ट्रीमा नदेखिएका व्यक्तिमा पनि संक्रमण देखिन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले समुदायमा फैलिएको हो वा होइन भन्ने अध्ययन गर्न थालेको हो। नेपाल अहिले संक्रमणको दोस्रो चरणमा रहेको छ।
संक्रमित भएको व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सर्नुलाई दोस्रो चरण मानिन्छ। गत चैतमा विदेशबाट कैलाली घरमा आएका एक जनामा व्यक्तिबाट घरकै रहेका अर्को स्थानीय व्यक्तिमा संक्रमण सरेपछि मन्त्रालयले नेपालमा दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको थियो। संक्रमणको तेस्रो चरण भनेको समुदायमा संक्रमण फैलिएको भन्ने हो। महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले अहिले ठूलो सङ्ख्यामा सबैमा संक्रमण देखिन थालेपछि समुदायमा नै संक्रमण फैलिएको हो की भनेर अध्ययन गर्न थालिएको जानकारी दिए। यसअघि गत जेठ महिनामा महाशाखाले काठमाडौँ उपत्यकामा पनि समुदायस्तरमा संक्रमण फैलिएको छ वा छैन भनेर अध्ययन गरेको थियो। सो अध्ययनले उपत्यकामा समुदायस्तरमा संक्रमण नफैलिएको बताएको थियो। त्यतिबेलाभन्दा अहिले काठमाडौँ उपत्यकामा संक्रमण दर बढिरहेको छ। हिजोमात्र ४८१ जनामा सङ्क्रमण देखिएको थियो।
‘संक्रमणको सूचक हेर्दा अहिले समुदायस्तरमा नै हो कि भन्ने देखाउँछ,’ उनले भने, ‘अब अध्ययन गरेपछि मात्र समुदायमा सङ्क्रमण छ वा छैनन् भन्ने पुष्टि गर्दछ।’ महाशाखाले विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा अध्ययन गर्न थालेको हो।
अध्ययनका लागि महाशाखाले शुक्रबारसम्म कर्मचारी छनोट गर्ने र ती कर्मचारीलाई तालिम दिएर सातवटै प्रदेशमा नमूना संकलनको लागि पठाउने महाशाखा निर्देशक डा पाण्डेले बताए। एलाइजा विधिबाट एन्टिबडीको परीक्षण गरी नेपालमा समुदायस्तरमा फैलिएको छ वा छैन भन्ने पत्ता लाग्नेछ। सातवटै प्रदेशबाट सङ्कलन भएको रगतको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिनेछ।
महाशाखाका निर्देशक डा.पाण्डेले अवको एक हप्तामा सातवटै प्रदेशमा रगतको नमूना सङ्कलन गर्नका लागि टोली जाने बताए। उनका अनुसार करिब एक महिनाभित्र समुदायस्तरमा फैलिएको हो वा होइन भनेर अध्ययन पूरा हुनेछ। ‘पहिले ट्राभल हिस्ट्री भएका मानिसमा मात्र सङ्क्रमण देखिएको थियो,’ उनले भने, ‘तर अहिले ट्राभल हिस्ट्री नभएका र समुदायमा रहेका व्यक्तिमा पनि सङ्क्रमण देखिएको छ।
काठमाडौँमा नै ट्राभल हिस्ट्री नभएका मानिसमा सङ्क्रमण देखिएको छ।’ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले समुदायस्तरमा सङ्क्रमण फैलिएकाबारे अध्ययन गर्ने तयारीमा रहेको जानकारी दिए। उनले १२ जिल्लामा खासखास ठाउँमा (कलस्टर) मा सङ्क्रमण देखिएको बताए। ‘यहाँ समुदायमा सङ्क्रमण अझै फैलिएको छैन,’ उनले भने, ‘बाह्र जिल्लामा क्लस्टरमा सङ्क्रमण फैलिएको छ। त्यसलाई नियन्त्रण गर्न सकेनौं भने समुदायमा फैलिने डर छ।’ उनले संक्रमणको सूचक हेर्दा नेपाल तेस्रो चरण प्रवेशका क्रममा रहेको बताए। रासस


























