चितवन, भदौ १४ । चितवनमा थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शनिबार अबेर राति संक्रमण पुष्टि भएका १२० जनामध्ये १०२ जना चितवनका हुन्। भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार चितवन मेडिकल कलेजमा गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएका ६५ जनामध्ये ६१ चितवनका हुन्।
धुलिखेल पठाइएको नमूनाको परीक्षणमा १२ जना चितवनका संक्रमित देखिएका छन्। यस्तै भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणको राति आएको नतिजामा ४३ जनामध्ये २९ चितवनका रहेको उनले जानकारी दिए।
चितवनमा मात्रै १०२ जना संक्रमित थपिएपछि जिल्लामा संक्रिमितको सङ्ख्या ६२७ पुगेको छ । तीमध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकाका ३६४ जना छन्। त्यस्तै रत्ननगरका ८२, राप्तीका ७६, माडीका ५०, खैरहनीका ४३, कालिकाका नौ र इच्छाकामना गाउँपालिकाका तीन जना रहेका छन्।
शनिबार नै चितवन मेडिकल कलेजमा उपचार गराइरहेका दुई जना संक्रमितको मृत्यु भएको छ।
योसँगै चितवनमा कोरोनाले मृत्यु हुनेको संख्या ११ पुगेको छ। तीमध्ये चार चितवनका हुन् भने अन्य अरू जिल्लाका हुन्। रासस


























