काठमाडौं, भदौ १३ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जस्तै सञ्चारकर्मीहरु पनि कोरोना संक्रमणको उच्च खोजिममा रहेका छन्। नेपालमा शुक्रबारसम्म ७१ जना सञ्चारकर्मीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल पत्रकार महासंघका अनुसार सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशमा पत्रकार पनि कोरोना संक्रमित भएका छन्। तर, सञ्चारकर्मीहरुले अन्यकर्मीहरु कोरोना संक्रमणको अवस्थामा पाउने सुविधाबाट बञ्चित भइरहेका छन्। खासगरी फिल्डमा गएर रिपोर्टिङ गर्ने टेलिभिजन, रेडियो, अनलाइनका सञ्चारकर्मीहरू उच्च जोखिममा छन्।
प्रदेश १ मा १३ जना सञ्चारकर्मी कोरोना संक्रमित भएका छन्। जसमा मोरङका १२ र उदयपुरका १ जना रहेका छन्।
प्रदेश २ मा २७ जना सञ्चारकर्मी संक्रमित भएका छन्। जस अनुसार पर्साका १३, बाराका ४, धनुषाका २, सप्तरीका ३, सर्लाहीका ३, महोत्तरीका १ र रौतहटका १ जना रहेका छन्।
यता बागमती प्रदेशमा ११ जना सञ्चारकर्मी संक्रमित भएका छन्। काठमाडौंका ९ र ललितपुरका २ जना रहेका छन्।
गण्डकी प्रदेशमा कास्कीका १ र नवलपुरका ७ गरी ८ जना संक्रमित भएका छन्। प्रदेश ५ मा बाँकेका २, बर्दियाका १, कपिलवस्तुका ६ र रुपन्देहीका २ गरी ११ जना संक्रमित भएका छन्।
कर्णालीकी दैलेख जिल्लामा १ जना सञ्चारकर्मी संक्रमित भएका छन्।
नेपाल पत्रकार महासंघले शुक्रबार विज्ञप्ति निकालेर संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निःशुल्क पीसीआर परीक्षणको व्यवस्थाका साथै संक्रमित सबै पत्रकारहरुको उपचारको उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
महामारीको विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्दै स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न महासंघले पत्रकारहरुलाई अपिल गरेको छ।
अन्य कर्मीहरुले राज्यबाट आधारभूत स्वास्थ्य सेवा तथा सुविधाहरु उपभोग गरिरहेको अवस्थामा सञ्चारकर्मीहरु भने आफ्नो तलब सुविधाबाट समेत बञ्चित भइरहेका छन्। कोरोना संक्रमणको पाँचौ महिनासम्म सयौं सञ्चारकर्मीहरु कामबाट निकालिएका छन्।


























