काठमाडौं, भदौ ११ । तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो १२ घण्टामा सात जनाको मृत्यु भएको छ।
पर्साको वीरगन्जमा मात्रै गर्भवती महिलासहित ३ जनाको कोरोनाकै कारण मृत्यु भएको छ। यस्तै बुटवलमा २, ललितपुरमा एक र पोखरामा एक जनाको मृत्यु भएको पुष्टि भएको छ।
वीरगन्जको नारायणी अस्पतालमा बाराको हर्दियाकी २३ वर्षीया गर्भवती महिलाको मृत्यु भएको छ।
३३ हप्ताको गर्भवती रहेकी महिलाको आज (बिहीबार) बिहान नारायणी अस्पताल पर्सामा मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए।
यस्तै यस्तै पर्साको धोबिनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुषको भने हिजो (बुधबार) साँझ नारायणी अस्पतालमा मृत्यु भएको छ।
यस्तै पर्साको वीरगन्ज महानगरपालिका–१४ बहुअरी निवासी ६२ वर्षीय पुरुषको आज बिहान ८ बजेर १० मिनेटमा नारायणी अस्थायी बिशेष कोरोना अस्पताल वीरगन्ज हेल्थ केयरमा मृत्यु भएको छ।
त्यस्तै कपिलवस्तु कोरोना संक्रमित पुरुषको बुटवलमा मृत्यु भएको छ। कोरोना विशेष अस्पताल बुटवलमा उपचारत कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ५० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो।
बुटवलमै अर्का संक्रमितको पनि मृत्यु भएको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिका २ जानकीनगरकी ७० वर्षीया महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो।
यस्तै ललितपुरको किस्ट अस्पतालमा उपचाररत एक ५५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। अर्घाखाँची स्थायी घर भइ हाल ललितपु बस्दै आएका उनको बुधबार राति मृत्यु भएको हो।
त्यस्तै पोखरा महानगरपालिका– १२ की ३२ वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा उपचाररत उनको बिहीबार विहान मृत्यु भएको हो।
यो सँगै पछिल्लो १२ घण्टामा मात्रै ७ जनाको मृत्यु भइको छ भने देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ८२ पुगेको छ।
बुधबार अपरान्ह स्वास्थ्य मन्त्रालले पत्रकार सम्मेलनका क्रममा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७५ पुगेको जनाएको थियो।
























