काठमाडौं, भदौ १० । कोरोना संक्रमण नियन्त्रणमा सरकार चुकेको नेपाली कांग्रेसको ठहर छ। कोभिड–१९ रोकथामका लागि सरकार दिशाविहीन र योजनाविहीन रहेको आरोप समेत कांग्रेसको छ।
पार्टीले गठन गरेको कोभिड–१९ अनुगमन समितिले सरकारी अकर्मण्यता र संवेदनहीनताले संक्रमण नियन्त्रणभन्दा बाहिर गएको आरोप लगाएको हो। अनुगमन समितिका संयोजक डा.प्रकाशशरण महतले नागरिकको जीवन संकट पर्नुमा सरकार जिम्मेवार रहेको बताए। कारोनाले उत्पन्न गरेको आर्थिक र सामाजिक असर सम्वोधन गर्न सरकारसँग ठोस योजना नरहेको उनको भनाइ छ।
संक्रमित चिकित्सक र स्वास्थ्यकर्मीहरुको उद्धार र उपचारको व्यवस्था सरकार गर्नुपर्ने समितिले जनाएको छ। चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि भएको दुव्र्यवहार र भौतिक आक्रमण रोक्नसमेत समितिले माग गरेको छ।
कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक अक्सिजनको पूर्ण सुनिश्चितता र भेन्टिलेटरको व्यवस्था गर्न पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ। स्वास्थ्यकर्मीलाई बिमाको व्यवस्था कार्यान्वयनको माग गर्दै अनुगमन समितिले कोरोना जोखिम भत्ता उपलब्ध गराउन समेत आग्रह गरेको छ।
लक्षणको स्वरुप हेरेर आइसोलेसनमा राख्ने मन्त्रालयको निर्णय अव्यावहारिक भएको समितिको ठहर छ। आइसोलेसनमा राख्ने वा उपचारमा राख्ने मन्त्रालयको निर्णय फिर्ताको माग गर्दै कांग्रेसले शैक्षिक वर्ष खेर नजाने गरी उच्च शिक्षा तहको परीक्षा वैकल्पिक विधि अपनाएर गर्न सुझाएको छ।


























