चितवन, भदौ, ८ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर पदाधिकारी विहीन हुँदा विश्वविद्यालय सभा अन्यौलमा परेको छ। गत आर्थिक वर्षको खर्च अनुमोदन र आउँदो वर्षको वजेट स्वीकृत सभाबाट गर्नु पर्दछ। विश्वविद्यालय उपकुलपति विहीन भएको एक वर्ष पुरा भई सकेको छ भने रजिस्ट्रार, सेवा आयोगका अध्यक्ष, डिन र निर्देशक रिक्त छन्। रजिस्ट्रार र सेवा आयोगका अध्यक्ष वाहेकका पद कायममुकायमका भरमा चलेको छ। गत वर्षको भदौ ७ गतेबाट उपकुलपति नियुक्त नभएसम्मका लागि दैनिक कामकाजको जिम्मेवारी पाउनु भएकी डा.शारदा थपलियका अनुसार सभाको सदस्य सचिव रजिस्ट्रार नै नभएका कारण विश्वविद्यालय सभा हुन नसकेको हो।
विश्वविद्यालय स्थापना यता ढिलोमा यही भदौ महिनाको पहिलो साता भित्रमा क्याम्पस सभा हुँदै आएकोमा यस वर्ष भने अन्यौलमा परेको उनले बताइन्। सभा नहुँदा पूँजीगत खर्चका काम रोकिने भएको छ। तलब भने पेश्कि वजेट दिएर खुवाउन सकिने उनले जानकारी दिइन्। गत आर्थिक वर्षमा विश्वविद्यालयलाई ६९ करोड वजेट निकासा भएको थियो। ती मध्ये ५० करोड हाराहारी संञ्चालन खर्च हुने डा.थपलियाको भनाइ छ। विश्वविद्यालयले चालु आर्थिक वर्षका लागि भौतिक संरचना समेत निर्माण गर्नु पर्ने भएकाले तीन अर्ब माग गरेको थियो। पूर्ण जिम्मेवारी सहित आफूले काम गर्न नपाएको र अन्य पदाधिकारी रिक्त रहेकाले विश्वविद्यालयका महत्वपूर्ण कामहरु रोकिएको उनले बताइन्।
रजिस्ट्रार गत माघ १२ गतेबाट र दुईवटा सङकायका डिन गत जेठ १ गतेबाट खाली छ। सेवा आयोजको अध्यक्ष गत साउन पाँच गतेबाट रिक्त भएको छ। निर्देशकहरु मध्ये एक खालि छ। बाँकी रहेका वन सङ्कायका डिन र निर्देशकहरुको कार्यकाल यही पुषमा सकिदैं छ। उपकुलपति नियुक्ति भएमा चार वर्ष कार्ययोजना वनाएर काम गर्न सक्ने छ। विश्वविद्यालयले दीर्घकालिन महत्व राख्ने विभिन्न काम गर्नु पर्ने भए पनि गत आर्थिक वर्ष यतिकै गुजारेको छ। चालु आर्थिक वर्ष पनि अन्यौलमा परेको छ। विश्वविद्यालयको दैनिक गतिविधि सञ्चालन भएको भए पनि अन्य काम हुन सकेका छैनन्। वि.सं. २०६७ असारमा सरकारले कृषि शिक्षाको अध्ययन, अनुसन्धान र प्रसारलाई एकीकृत रुपमा अघि वढाउन विद्यालय स्थापना गरेको हो। रासस




















