काठमाडौं, भदौ ५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यदलले प्रतिवेदनलाई अन्तिम रुप दिने प्रयास गरिरहेको छ। कार्यदलमा सहमति जुटाउन बाँकी रहेका विषयमा छलफल गर्न आज (शनिबार) ३ बजे बैठक बोलाइएको छ। बैठक बालुवाटारमा बस्नेछ।
‘प्रायः विषयमा सहमति जुटिसक्यो’, कार्यदलका एक सदस्यले भने, ‘अब दुईरतीन वटा विषयलाई फाइनल गर्न बाँकी छ।’
उनका अनुसार बाँकी विषयमा आजको छलफलमा सहमति जुट्यो भने आजै अध्यक्षद्वयले प्रतिवेदन बुझाइने छ।
कार्यदलका एक सदस्य काठमाडौंबाहिर गएकाले प्रतिवेदन बुझाउने सम्भावना कम रहेको अर्का सदस्यले बताए। उनका अनुसार, बाँकी रहेका विषयमा सदस्यहरुबीच मतान्तर बाँकी रहेकाले प्रतिवेदन कहिले बुझाइन्छ, यसै भन्न सकिने अवस्था छैन।
नेकपामा विवाद बढ्दै गएपछि त्यसको निरुपण गर्न गत शुक्रबार ६ सदस्यीय कार्यदल बनाइएको थियो। कार्यदललाई अहिले पार्टीमा देखिएका समस्या समाधानका लागि उपायहरु सुझाउँदै प्रतिवेदन दिने कार्यभार तोकिएको छ। कार्यदलमा विष्णु पौडेल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे र भीम रावल सदस्य छन्।


























