काठमाडौं, साउन २४ । नेपालमा शनिबार थप तीन जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७३ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले शनिबार थप तीन जनाको कोरोनाले मृत्यु भएको पुष्टि गरेका हुन्।
पर्सा छप्कैयाका एक पुरुष, मोरङ विराटनगरका ५८ वर्षीय पुरुष र काठमाडौं टोका ६ की ४१ वर्षीया महिला गरी तीन जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।
यसअघि हिजो शुक्रबार एकैदिन पाँच जनाको कोरोनाले मृत्यु पुष्टि भएको थियो। मन्त्रालयका अनुसार पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ९ माइस्थान बस्ने ४५ वर्षीय पुरुष, पर्सा जिल्ला वीरगन्ज महानगरपालिका(११ श्रीपुर बस्ने ७९ वर्षीय पुरुष, सिरहा गोलबजार नगरपालिका १२ बस्ने २५ वर्षीय एक पुरुष, सर्लाही बसन्तपुरका ४५ वर्षीय पुरुष र पर्साको वीरगन्ज महानगरपालिका ११ श्रीपुर बस्ने ५७ वर्षीय पुरुषको कोरोनाले मृत्यु पुष्टि भएको थियो।
योभन्दा अगाडि विहीबार पनि पाँच जनाकै मृत्यु पुष्टि भएको थियो।


























