चितवन, साउन २३ । विश्वका ठूला शहरमा पर्यटकको मुख्य आकर्षण नदीका गतिविधि हुने गर्दछन्। नेपालमा धेरै सुन्दर नदी भएर पनि त्यसको उचित व्यवस्थापन हुन नसक्दा पर्यटकीय आकर्षण नदीमा कमै मात्र हुने गरेको छ। भरतपुर महानगरपालिकाले नारायणी नदीको किनारलाई व्यवस्थित गरेर पर्यटकीय आकर्षणको केन्द्र बनाउने भएको छ। भरतपुर महानगरपालिका–१ स्थित नारायणगढ बजारसँगै नारायणी नदी किनारलाई व्यवस्थित गर्न थालिएको हो। नारायणी नदीको पुलदेखि नारायणी लिफ्ट सिँचाइसम्मको भूभागलाई संरचना निर्माण गरी सुन्दर बनाउन लागिएको हो।
महानगरपालिकाका ई अस्मिता खनालका अनुसार त्यस भूभागलाई पाँच भागमा विभाजन गरेर संरचना निर्माण गर्ने गरी विस्तृत अध्ययन प्रतिवेदन परामर्शदाता कम्पनीले तयार गरेको छ। काठमाडौँको ग्रिड कन्सल्ट नामको कम्पनीले रु २९ करोड ३१ लाख खर्च हुने गरी विस्तृत अध्ययन प्रतिवेदन तयार गरेर महानगरपालिकालाई बुझाइसकेको छ। नदी किनारको दुईतर्फको छेउमा हाल भएको संरचनालाई व्यवस्थित गरिनेछ। खनालका अनुसार बीचको भागमा धार्मिक, प्रदर्शनी र खेल क्षेत्रका लागि छुट्टाछुट्टै स्थान तय गरिएको छ। ती क्षेत्रभित्र पैदलमार्ग, साइकल मार्ग, प्रदर्शनी, आरती, धार्मिक प्रवेश र हरियाली क्षेत्र रहनेछन्।
बगैँचा, फुटबल मैदान, भलिबल कोट, ब्याडमिन्टन कोट, बिच भलिबल क्षेत्र, अन्य खेलका लागि छुट्टै भूभाग, बालुवा क्षेत्र, बालबालिकाको खेल, अवलोकन, विश्रामस्थल, शौचालय, पार्किङलगायत संरचना निर्माण गरिनेछ। दुई दशमलव पाँच किलोमिटर लामो सो भूभाग १५ बिघा क्षेत्रमा फैलिएको छ। आफैँ रमणीयस्थल भएकाले यसलाई व्यवस्थित गरेसँगै यहाँको सौन्दर्यता थप आकर्षक बन्ने अपेक्षा गरिएको छ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल आफूले प्रमुख भएदेखि नै नदी किनारलाई पर्यटकीय आकर्षक केन्द्रका रुपमा विकास गर्न गृहकार्य गर्दै आएको बताइन्। गत आर्थिक वर्षमा सोही ठाउँमा रु ९७ लाख खर्च गरेर पैदल मार्ग र पार्कहरु निर्माण गरिएको छ। दाहालका अनुसार प्रतिवेदनअनुसार काम गर्न सङ्घ र प्रदेश सरकारसँग बजेट माग गरिनेछ।
सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रु दुई करोड १० लाख बजेट विनियोजन गरिसकेको उनले जानकारी दिइन्। प्रदेश सरकारले रु ५० लाख र महानगरपालिकाले रु ५० लाख विनियोजन गरेको छ। दाहालले भनिन्, “विस्तृत अध्ययन प्रतिवेदन स्वीकृतसँगै थप बजेटका लागि सङ्घ र प्रदेशसँग अनुरोध गर्छौं।” बहुवर्षीय रुपमा काम हुने भएकाले एकातर्फ काम हुँदै जाने र अर्कातर्फ आवश्यक बजेट माग गर्ने काम पनि सँगसँगै गरिने उनको भनाइ छ।
महानगरको शहरी क्षेत्रमा बसोबास गर्नेका लागि नदी किनार निकै उपयोगी हुनेछ भने आन्तरिक र बाह्य पर्यटकका लागि पनि आकर्षक केन्द्रबिन्दु बन्ने दाहालको विश्वास छ। पवित्र तीर्थस्थल देवघाट र नवलपरासी क्षेत्र नदी किनारबाट अवलोकन गर्न सकिनेछ। दाहालका अनुसार किनारका संरचना बन्दै गर्दा नदीका खेलहरु पनि खेल्न सकिनेछ।
महानगरका पर्यटनविज्ञ विश्व सुवेदी नारायणी नदी किनार राम्रो मनोरञ्जन केन्द्रका रुपमा विकास हुने बताए। सामुन्द्रीक किनारको अनुभूति त्यहाँ पुग्ने जो कोहीले पाउने गरी संरचनाहरु निर्माण गर्न लागिएको उनको भनाइ छ। मुख्य रुपमा आन्तरिक पर्यटक र बाह्यलाई पनि नदी किनार महत्वपूर्ण गन्तव्य बन्ने सुवेदीले बताए। उनले भने, “प्रतिवेदनअनुसार काम सम्पन्न हुँदै गर्दा कम्तीमा चार घण्टा विदेशी पर्यटकलाई पनि घुमाउन सक्ने ठाउँ बन्छ।” धार्मिक दृष्ट्रिले नारायणी नदी महत्वपूर्ण मानिन्छ। सोही नदीको तटमा व्यवस्थित संरचना बनेसँगै धार्मिक भक्तजनदेखि नदी किनारमा खानपिन र खेल्न रुचाउने सम्मको आकर्षणको केन्द्र नदी किनार बन्ने अपेक्षा लिइएको छ। रासस


























