दोहा, साउन २२ । बैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेका नेपाली श्रमिकहरु मध्ये मार्चदेखि जुलाई अन्तिमसम्म पाँच महिनाको अन्तरालमा २६ नेपाली श्रमिकको मृत्यु भएको छ।
कुवेतमा कोरोना संक्रमणबाट १ महिलासहित ७ जना पुरुष रहेको तथा अन्य १८ जनाको विभिन्न कारणले मृत्यु भएको कुवेतस्थित नेपाली दूतावास श्रोतले जनाएको छ।
दूतावासका अनुसार कोरोनाको कारण मृत्यु भएका ८ जनाकै परिवारसँग समन्वय गरी कुवेतमै अन्तिम संस्कार गरिएको छ। हालसम्म कुवेतबाट विभिन्न उडानमार्फत १३ जनाको शव नेपाल पठाईसकिएको दूतावासले जनाएको छ।
कुवेतमा कोरोनाबाट संक्रमितको हुनेको संख्या ६९ हजार ४२५ जना पुगेको छ। हालसम्म उपचारपछि निको भएर घर फर्किनेको संख्या ६० हजार ९०६ जना पुगेको छ भने मृत्यु हुनेको संख्या ४६८ पुगेको कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कुवेतमा यसअघि ८४ जना नेपाली कोरोनाबाट सङ्क्रमित भएको उल्लेख गरिएको थियो। त्यसपछिको अहिलेसम्म के कति नेपाली श्रमिकहरु कोरोनाबाट सङ्क्रमित भए कति उपचारपछि निको भएर काममा फर्किए भन्ने नेपाली दूतावाससँग पनि तथ्याङक छैन।























