काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कम्तीमा पनि ६ लाख जनाकाे पिसिआर जाँच गर्ने बताएका छन्। मन्त्रालयद्वारा बुधबार विभिन्न सञ्चारगृहका सम्पादकहरुसँग भएकाे अन्तरक्रियामा मन्त्री ढकालले कम्तीमा पनि ६ लाख मानिसकाे पिसिआर जाँच गरिने बताएका हुन्। ‘आवश्यकताअनुसार परीक्षण गर्दै लगिने छ। सीमाबाट हिँडेर आउनेलाई १४ दिन क्वारेन्टिनमा राखिने छ र पिसिआर जाँच गरिने छ,’ उनले भने, ‘हवाइजहाजबाट आउनेलाई पाँच दिन राखिने छ।’
बन्दाबन्दीबाट मुक्त भएकाहरु असावधान हुँदा जोखिम बढेको बताउँदै अब पहिले जस्तो सोलोडोलो बन्दाबन्दी नहुने मन्त्री ढकालले बताए। ‘बन्दाबन्दीको मोडालिटीबारे सोचिने छ’, उनले भने, ‘चाडपर्व मनाउने प्रोटोकलबारे मन्त्रिपरिषद्बाट पारित भइसकेको छ। तराईका जिल्लामा कडाइका साथ व्यवस्थापन गरिने छ।’ भदौ १ गतेदेखि खुल्ने भनिएका हवाइजहाज, लामो दूरीका सवारीसाधन र विद्यालयबारे आजै केही भन्न सकिने अवस्था नरहेकाे उनकाे भनाइ छ। भारतको अवस्था हेरेर मात्रै नेपालकाे अवस्था निर्धारण हुने सङ्केत गरे।
मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयमा भएको भनिएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न सम्बन्धित पक्षको ध्यानाकर्षणसमेत गराए। कोरोनाबाट मृत्यु हुने प्रतिशत नेपालमा शून्य दशमलव २७ मात्रै भएकाेले विश्वका अन्य मुलुककाे तुलनामा नेपाल धेरै नै सुरक्षित भएकाे उनकाे दाबी छ।
जोखिम नियन्त्रणका लागि समन्वय, सञ्चार र समुदायको सहभागितामा जोड दिइने, सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने, हिँडडुलमा नियन्त्रण गर्ने, मानिस प्रवेश गर्ने २० नाकालाई १० मा झार्ने र विदेशबाट आउनेलाई १४ दिन क्वारेन्टिनमा राख्नेबारे सोचाइ भइरहेको मन्त्रालयले जनाएकाे छ। – राससकाे सहयाेगमा


























