काठमाडौं, साउन २० । पार्टी विवाद मिलाउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताबीच आज मंगलबार पनि भेटवार्ता हुने भएको छ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता हुने भएको हो। आजको वार्तामा नेता सुवास नेम्वाङ पनि सहभागी हुनेछन्। नेताहरुबीच साँझ ५ बजे भेटवार्ता गर्ने तय भएको जनाइएको छ।
यसअघि सोमबार र आइतबार पनि चारै नेताबीच छलफल भएको थियो। दुवै दिनको वार्ता सकारात्मक रुपमा अघि बढेको नेताहरुले बताएका छन्। सोमबारको बैठकमा अध्यक्ष प्रचण्ड तथा नेता खनालले पार्टी विवाद स्थायी कमिटी बैठकबाट टुंगो लगाउनुपर्ने बताएका थिए। तर ओलीले पहिला सचिवालयले टुंगो लगाउनुपर्ने बताउँदै त्यसपछि स्थायी कमिटीमा लैजानुपर्ने धारणा राखेका थिए।
नेकपाको विवादकै कारण गत असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक पटक-पटक स्थगित हुँदै आएको छ।


























