हेटौंडा। बागमती प्रदेशमा असार मसान्तसम्म निर्माण भएका पुलहरुको एकै चोटी उद्घाटन भएको छ। बुधबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले निर्माण सम्पन्न ३२ पुलको एकैचोटी उद्घाटन गरेका हुन्। प्रदेश भरिमा काठमाडौंको एक, ललितपुरको ५, भक्तपुरको १, काभ्रेपलाञ्चोकको ५, सिन्धुपलाञ्चोकको ५, दोलखाको ३, चितवनको ३, मकवानपुरको २, नुवाकोटको ३, धादिङको १, सिन्धुलीको १ र रामेछापको १ गरेर ३२ पुलको उद्घाटन भएको हो। ३२ वटा पुलको कुल लम्बाई ९ सय ९२ मिटर रहेको छ भने जम्मा लागत ७३ करोड ६७ लाख ४३ हजार रहेको मन्त्रालयका सचिव तेजराज भट्टले जानकारी दिए।
३२ पुलमध्ये पूर्वाधार विकास कार्यालय ललितपुरबाट ६ वटा पुल निर्माण सम्पन्न भएका छन्। जसमा कर्मनाशा खोला पुल, गंगटे पुल खोला पुल, सपन तिर्थ पुल, खानी खोला पुल, धोबी खोला पुल, नख्खु खोला पुल निर्माण भएको छ। यस्तै पुर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकबाट ६ वटा पुल बनेका छन्। काभ्रेबाट बनेका पुलहरुमा महादेव सडक पुल, रोशी खोला सडक पुल वन्थली ढाँड, पुन्यमाता दोभान काभ्रे, रोशी खोला माम्ती पुल, रोशी खोला सडक पुल कटुञ्जे काभ्रे, स्वाल्पा खोला सडक पुल भक्तपुर निर्माण भएको छ।
यस्तै पूर्वाधार विकास कार्यालय नुवाकोटबाट ४ वटा पुल बनेका छन्। नुवाकोटबाट खारेखोला बडरे हिरामनीटार कल्भर्ट हल्देकालिका, थोपल खोला पुल सुनौला बजार, कुथुङ खोला पुल, ढिकुरे खाल्टे खहरे खोलापुल निर्माण सम्पन्न भएको छ। यस्तै पूर्वाधार विकास कार्यालय चितवनबाट ५ वटा पुल सम्पन्न भएको छ। चितवनमा बाँदरमुढे खोला पुल, केरुङग खोला पुल लम्साल चोक, केरुङग खोला पुल भरतपुर र कालिका नगरपालिका जोड्ने पुल, आँपखोल्सी सकडपुल मनहरी–राक्सिराङ जोड्ने पुल मकवानपुरको र दुवाखोला सडक पुल कैलाश गाउँपालिका मकवानपुरको पुल सम्पन्न भएको हो।
सबै भन्दा धेरै पुर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले पुल बनाएको छ। सिन्धुपाल्चोकले ९ वटा पुल निर्माण सम्पन्न गरेको छ। उक्त कार्यालयले हाँडी खोला पुल सिन्धुपाल्चोक, महादेव खोला पुल, सिपा खोला पुल, खहरे खोला पुल, पाखर खोला पुल, ढाँडे–बराम्ची–खोला पुल, सोरुङ खोला पुल दोलखा, अधेरी खोला पुल दोलखा र चर्नावती खोला पुल दोलखा निर्माण सम्पन्न भएको छ। यस्तै पुर्वाधार विकास कार्यालय रामेछापले दुईवटा पुल सम्पन्न गरेको छ। रामेछापले वाक्सु खोला पुल र भटौली खोला पुलको निर्माण सम्पन्न गरेको हो।
सम्पन्न भएका पुलहरुमा स्टिल ट्रस २ वटा, सस्पेन्सन २ वटा, स्टिल प्लेट गर्डर ४ वटा, आरसिसि बिम १७ र आर सिसि बक्स ७ वटा निर्माण भएको हो। बागमती प्रदेशभित्र २४ वटा ठूला राजमार्ग छन् जसमा २ हजार ४ सय १३ किलोमिटर पर्छन भने प्रदेश स्तरीय ४ हजार ६ सय ९६ किलोमिटर (२ सय २ मार्ग) छन्। यस्तै स्थानीय सडहरु २० हजार किलोमिटर रहेका छन्।


























