काठमाडौं, साउन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई सुखी बनाउन यतिबेला एकतावद्ध भएर अघि बढ्नु अपरिहार्य रहेको बताएका छन्।
४२ औँ पुष्पलाल स्मति दिवसका अवसरमा एक वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले पार्टीलाई बलियो बनाउँदै देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन एकतावद्ध भएर अघि बढ्नु अपरिहार्य रहेको बताएका हुन्।
उनले देशलाई समृद्ध बनाउने साधन पार्टी रहेको पनि बताएका छन्। सरकारले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा अगाडि सारेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हामी यसअघि गर्न नसकेका र नगरिएका तमाम कामहरु गर्दैछौैँ।’
प्रधानमन्त्री ओलीले समृद्धिका लागि मेहनत गरिरहेको बताउँदै अहिले कम्युनिस्ट पार्टीको सरकारले समानतालाई समृद्धिसँग जोडेर अघि बढिरहेको तथ्य स्पष्ट रहेको पनि बताएका छन्।
‘आजको पिँढीले आफ्नो जीवनमा समृद्धिसहितको समानता हासिल गरी पुष्पलालका योगदान स्मरण गर्नेछ। पुष्पलालको वैचारिक मार्गदर्शनमा मुलुकलाई अग्रसर गराउने संकल्प गर्दै ४२ औं स्मृति दिवसमा उहाँप्रति श्रद्धासुमन अर्पण गर्दछु ’, उनले भनेका छन्।
पुष्पलालको अगुवाईमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नु अगाडि पनि नेपालमा कम्युनिस्ट नेता र कार्यकर्ता रहेको तर त्यतिबेला कम्युनिस्ट आन्दोलनको व्यवस्थित राजनीतिक र सांगठनिक आकार नरहेको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्।
‘कमरेड पुष्पलालकै अगुवाईमा कम्युनिस्ट आन्दोलनको संस्थागत थालनी, समाजको तात्कालीन अवस्थाको गहिरो विश्लेषण, नेपाली समाज र राजनीतिलाई मार्गदर्शन गर्ने विचार, दर्शन र संगठनको स्थापनामा भयो। विचारका हिसावले नेपाल कुन अवस्थामा छ, नेपालमा गर्नु पर्ने के हो र कसरी अगाडि वढ्ने भन्ने व्यवस्थित वैचारिक मार्गदर्शन अघि सार्दै पुष्पलालले सामन्तवादको अन्त्य र गणतन्त्रको स्थापनालाई राजनीतिक उद्देश्य बनाउनुभयो। साथसाथै पार्टीलाई सामाजिक न्याय, समानता र देशभक्तिपूर्ण आन्दोलनको पर्यायका रुपमा अघि बढाउनु भयो ’, प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ।
पुष्पलालले विचार, दर्शन र सामाजिक मूल्य मान्यताको तहबाट एउटा नयाँ वास्तविक सम्पूर्ण रुपमा क्रान्तिकारी, परिवर्तनकारी, वैज्ञानिक विचार प्रारम्भ गरेको पनि प्रधानमन्त्रीले स्मरण गरेका छन्।
बाम–लोकतान्त्रिक आन्दोलन र रुपान्तरणका व्यवस्थित विचारमा पुष्पलालसँग समकालीन नेताहरुमध्ये अरु कसैको तुलना हुन नसक्ने पनि ओलीले बताएका छन्।
‘हामीले पुष्पलालको सपना साकार पार्ने बाटोमा महत्वपूर्ण काम गरेका छौँ। विभाजित कम्युनिस्ट आन्दोलन एकतावद्ध, राष्ट्रब्यापी र मजबुत भएको छ। पार्टीले करिव दुईतिहाई बहुमतका साथ प्रमुख स्थान हासिल गरेको छ। पुष्पलालको जुन सांगठनिक राजनीतिक चाहना थियो, त्यो आज हामीले धेरै हदसम्म पूरा गरेका छौं’, प्रधानमन्त्रीले भनेका छन्।




















