चितवन, साउन ७ । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत १६ किलोमा चट्टान फोरेर पहिरो पन्छाउन थालिएको छ। भरतपुर महानगरपालिका–२९ को बालुवा पुल नजिकै मङ्गलबार राति ठूला चट्टानसहितको पहिरो खसेपछि आज बिहान १० बजेबाट चट्टान फोरेर पहिरो पन्छाउन थालिएको हो।
डिभिजन सडक कार्यालय भरतपुरका ईञ्जिनीयर विजय दराईका अनुसार चट्टान फोर्नुपर्ने भएपछि एक्साभेटरमा ब्रेकर राखेर फोर्न थालिएको छ। नारायणगढ तर्फको भागमा एक्साभेटरले बिहान १० बजेबाट ढुङ्गा फोर्न शुरु गरेको हो। मुग्लिन तर्फबाट बिहान ९ बजेबाट लोडरले पहिरो पन्छाउन थालेको छ।

पहिरोले सडकको झण्डै १५० मिटर भाग ढाकेको छ। दराईले भने “माथि २५० मिटर जतिबाट पहाडै खसेको छ।” करिब पाँच घण्टामा पहिरो पन्छाउन सकिने अनुमान गरिएको उनले जानकारी दिए। अर्को एउटा एक्साभेटर पनि खोजी गरिएको दराईको भनाइ छ। साना ढुङ्गा, गिट्टी, बालुवा सहजै पन्छाउन सकिने भए पनि ठूला ढुङ्गालाई ब्रेकरले फोरेर पन्छाउनुपर्ने हुन्छ।
सो सडकको चार किलोमा सोमबार बिहान खसेको पहिरो पन्छाएर मङ्गलबार दिउँसो ४ः३० बजे सडक एकतर्फी खोलिएको थियो। त्यसै राति ८ः४५ बजे १६ किलोमा ठूला चट्टानसहित पहिरो खसेको हो। रासस


























