चितवन, साउन ४ । माडी नगरपालिका ९ कुसुमखोलामा चितवन राष्ट्रिय निकुञ्जलले स्थानीयको घरमा आगजनी तथा हात्ती प्रयोग गरेर भत्काएको बिषयमा नेकपाका अध्यक्ष तथा माडीका सांसद पुष्पकमल दाहाल प्रचण्डको क्षेत्रीय निर्वाचन क्षेत्रले ध्यानाकर्षण भएको जनाएको छ। आज दिउसो कुसुमखोलामा बसोबास गर्दै आएका दाङबहादुर प्रजा र दीपबहादुर चेपाङकाे घरमा आगजनी गरेको तथा अन्य ८ वटा घरहरू हात्ती लगाई भत्काएकोमा आपत्ति जनाएको छ।
चेपाङ बस्तीमा बिना सूचना र बिना वैकल्पिक आधार आगो लगाउने, हात्ती लगाएर घर भत्काउने सरसामान पनि निकाल्न नदिने कार्य गरेकोमा आपत्ति जनाउदै जुन हर्कत गरियो, यो मानव जगतको निक्रिष्ट र अपराधिक कार्य भएको र यसको जति निन्दा र भर्त्सना गरे पनि नपुग्ने जनाएको छ।
वर्षायामको झरीको समयमा गरिब तथा सुकुम्मवासी जनतालाई घरबारविहीन बनाउने निकुञ्ज प्रशासनको हरकत कम्युनिष्ट पार्टीको सरकारमाथि नै चुनौती थपिदिएको विज्ञप्तिमा भनिएको छ। स्वकीय सचिव नीशा न्यौपानेद्वारा जारी विज्ञप्तिमा नेकपाका अध्यक्ष दाहालको निर्वाचन क्षेत्रमा भएको घटना जनतामाथि दमन गरी निर्वाचित जनप्रतिनिधिको अपमान भएको महसुस भएको जनाएको छ। सरकारले निकुञ्ज प्रशासकलाई तत्काल कारबाही गर्नुपर्ने र पीडितको मानवअधिकारको पूर्ण रक्षा गर्दै क्षतिपूर्तिको पूर्ण व्यवस्था गर्न माग पनि गरिएको छ।
यता निकुञ्ज प्रशासनले कुसुमखोला निवासी सुकुम्बासीको घरमा आगजनी तथा हात्ती लगाई क्षती पुर्याएको घटनाप्रति माडी नगरपालिकाले भर्त्सना गरेको छ। नगरप्रमुख ठाकुरप्रसाद ढकालद्वारा हस्ताक्षरित वक्तव्यमा स्थानीय सरकार वा सरोकारवालाहरूसँग कुनै समन्वय नगरी सिधै सुकुम्बासीको घरमा आगजनी गरेको जनाइएको छ। यस्तोमा, घरबारबिहीन बनाइएका भूमिहीनहरूको उचित व्यवस्थापनमा तत्कालै ध्यान दिन नगरपालिकाले सरकारसमक्ष अनुरोध गरेको छ।
त्यस्तै, कुसुमखोला आगलागी घटनाप्रति नेकपा माडी नगर कमिटिले समेत भर्त्सना गरेको छ। नेकपा माडी नगर कमिटिका अध्यक्ष प्रभुप्रसाद महतो र सचिव नारदमणी पौडेलले एक वक्तव्य जारी गर्दै निकुञ्जले शनिवार माडी–९, कुसुमखोला निवासी दाङबहादुर प्रजा र दीपबहादुर चेपाङको घरमा आगजनी गरेको तथा अन्य ८ वटा घरहरू हात्ती लगाई भत्काएकोमा आपत्ति जनाएका छन्।


























