काठमाडौं, साउन ४ । नेपालमा कोरोनाभाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या ११ हजार ६९५ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आइतबारसम्म संक्रमणमुक्त हुनेको संख्या ११ हजार ६९५ अर्थात ६६.२४ प्रतिशत पुगेको जानकारी दिए।
उनका अनुसार आज ५८ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन्। आइतबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले बितेको २४ घण्टामा २७ प्रयोगशालाबाट ३ हजार ७४१ जनाको नमुना परीक्षण भएको जानकारी दिए।
जसअनुसार काठमाडौंका १ र ललितपुरका २ गरी थप १५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए।
योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको कूल १७ हजार ६५८ संख्या पुगेको छ भने हालसम्म ६६।२४ प्रतिशत निको भएसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ९६३ जना रहेको छ।
यसैगरी हालसम्म भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला गरी ८ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए।


























