काठमाडौं, साउन ४ । पटक–पटक स्थगित हुँदै आएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज हुँदैछ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुबै पद छाड्नुपर्ने माग उठेपछि असार २० यता लगातार स्थगित हुँदै आएको बैठक आज अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुन लागेको हो।
गत असार १० गते सुरु भएको स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यहरुले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग राखेपछि फुटको संघारमा पुगेको नेकपाको विवाद तत्कालका लागि मत्थर हुने संकेत देखिएको छ।
शनिबार भएको सचिवालय बैठकमा ओलीले २०७७ चैतमा गर्ने भनिएको महाधिवेशन आगामी मंसिरमै गर्ने प्रस्ताव अघि सारेपछि प्रचण्डले सहमति जनाएको बताइएको छ।
योसँगै ओलीले तत्काल दुबै पदबाट राजीनामा दिन नपर्ने भएको छ। तर, अग्रिम महाधिवेशनको प्रस्तावमा माधवकुमार नेपालले असहमति राखेकाले अझै ठोस सहमति हुन सकेको छैन।
पार्टी एकताको काम नै पूरा नभएको अवस्थामा आउने मंसिरमै महाधिवेशन गर्न सम्भव नहुने नेपालको भनाइ छ। वरिष्ठ नेता झलनाथ खनाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि ओलीको प्रस्तावमा असहमत देखिएका छन्।
अग्रिम महाधिवेशनको विषय दुई अध्यक्षको सहमतिमा मात्र नभई स्थायी कमिटी र केन्द्रीय कमिटीबाट टुंग्याउनुपर्ने नेता नेपालको माग छ। नेपालले दुई अध्यक्षबीचको सहमतिबाट मात्रै नभई पार्टी कमिटीबाट निर्णय हुनुपर्ने अडान लिएका छन्।
सचिवालय बैठकलगत्तै शनिबार साँझ अध्यक्षद्वय ओली र प्रचण्डले शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि परामर्श गरेका थिए। राष्ट्रपतिको मध्यस्थतामा कुनै सहमति भएको अनुमान गरिएको छ तर त्यसबारे कुनै कुरा खुलाइएको छैन।
प्रवक्ता श्रेष्ठले सचिवालय बैठकमा विवाद समाधानमा छलफल भए पनि स्थायी कमिटीबाटै निकास निकाल्ने पक्षमा नेताहरु देखिएको जानकारी दिएका छन्।


























