असार ३१ ।
– वर्षायाम लागेसँगै वनपाखा, खोला र चौरमा च्याउ प्रशस्त उम्रिन्छन्। तीमध्ये कतिपयमा पौष्टिक तत्त्व प्रशस्त पाइन्छ। तर, सबै च्याउ खानयोग्य हुँदैनन्, कतिपय निकै विषालु हुन्छन्। विषालु च्याउ खाएर बर्सेनि धेरै मानिसको ज्यान जान्छ।
– नेपालको पहाडी, तराई र दुर्गम क्षेत्रमा विषालु च्याउ खाएर मानिसको मृत्यु हुने गर्छ।
– नेपालमा एक हजारभन्दा बढी प्रजातिका च्याउ पाइन्छन्। तीमध्ये करिब एक सय १० प्रजातिका मात्र खानयोग्य छन्। हेर्दा सबै च्याउ एकै प्रकारको देखिनाले खानयोग्य र विषालु छुट्याउन गाह्रो हुन्छ।
– खानयोग्य च्याउको छाता छुँदा चिप्लो हुन्छ । छाता खस्रो भएको च्याउ विषालु हुन्छ। यस्तै, नमिठो गन्ध, धेरै झुस, थरीथरीका रङ र तितो स्वाद भएका च्याउ विषालु हुन्छन्।
– छुँदा रङ परिवर्तन हुने र भाँच्दा चोप निस्कने च्याउ पनि विषालु हुन्छन्।
– किरा नलाग्ने भएकाले विषालु च्याउ लामो समय रहिरहन्छन्, खानयोग्य च्याउ छिटै कुहिन्छन्। विषालु च्याउ हेर्दा सफा र आकर्षक देखिन्छन्।
– भण्डारण गर्ने तरिकाबाट खानयोग्य च्याउ पनि विषाक्त हुन सक्छन्।
– च्याउको प्रकृति, उम्रेको स्थान र भण्डारण गर्ने तरिकाअनुसार त्यसले शरीरमा गर्ने असर पनि भिन्न हुन्छन्। कतिपय च्याउ खानासाथ मृत्यु हुन्छ। कतिपय च्याउ खाएपछि बिस्तारै स्वास्थ्य समस्या देखिन्छन्।
– विषालु च्याउ खाएपछि बान्ता, झाडापखाला, टाउको दुख्ने, रिंगटा लाग्ने लक्षण देखिन्छन्। केही बेर सन्चो भएजस्तो पनि हुन्छ।
– च्याउको विषले सीधा कलेजोमा असर पार्छ। त्यसपछि पित्तमा पुगेर नयाँ तत्त्वको निर्माण गर्छ, जसले मिर्गौलाको काम गर्ने क्षमता घटाउँछ। अनि कलेजो र मिर्गौला फेल भएर मानिसको मृत्यु हुन्छ।
– उमेर समूहअनुसार विषालु च्याउका असर पनि फरक हुन्छन्। बालबालिका र ज्येष्ठ नागरिकमा विषको असर छिटो पर्छ।
– त्यसैले खानयोग्य हो या विषालु भन्ने यकिन नगरी जंगली च्याउ घरमा नल्याऔँ। धेरै प्रजातिका च्याउ मिसाएर पनि नपकाऔँ।
– च्याउको विष लागिसकेपछि बान्ता गराउने र पखाला लगाउने विधिबाट उपचार गर्न सकिन्छ।
– विषको असर देखिनासाथ नजिकको स्वास्थ्य संस्थामा पुर्याइहालौँ। तत्काल उपचार सुरु भएमा विषले गर्ने हानिबाट बिरामीलाई बचाउन सकिन्छ।
























