काठमाडौँ । चितवनकी १७ बर्षीया किशोरीको अश्लिल भिडियो बनाएर वेभसाइटमा अपलोड गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पीडित किशोरीले दिएको उजुरीको आधारमा प्रहरीको साइबर ब्यूरो काठमाडौंले काठमाडौँको गोंगबु बस्ने वर्ष २३ का सुरज श्रेष्ठलाई आइतबार पक्राउ गरेको ब्यूरेका प्रवक्ता एवम् वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्यालले जानकारी दिए।
‘पीडित किशोरीबाट ब्यूरोमा प्राप्त सूचना र निवेदनको आधारमा अनुसन्धान गर्दा काठमाडौंको गोंगबु बस्ने वर्ष २३ का सुरज श्रेष्ठले अनाधिकृत रुपमा ब्लु संसार डटकम नामको पोर्न वेभसाइट बनाई पीडितको अश्लिल भिडियो अपलोड गरेको खुल्न आएको हुँदा विद्युतीय कारोबार ऐन२०६३ को परिच्छेद ९ मा उल्लिखित कसुरमा आइतबार नियन्त्रणमा लिइएको हो,’ उनले भने, ‘थप अनुसन्धानको लागि काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक कारवाही प्रकृया अगाडि बढाइएको छ।’
अश्लिल तथा यौनजन्य सामग्रीहरुले समाजमा विकृती र विसंगती बढाउने हुँदा यस्ता सामग्री बनाउने, सामाजिक सञ्जालमा राख्ने तथा कुनै पनि किसिमबाट प्रकाशन, प्रशारण वा प्रदर्शन नगर्न पनि प्रहरीले सबैलाई आग्रह गरेको छ।

























