नारायण ढुङ्गाना,
काठमाडौँ । मुलुकमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या केही वृद्धि भए पनि वृद्धिदर भने घट्दै गएको छ। गृहमन्त्रालयले केन्द्रीय तथ्याङ्क विभागसँगको सहकार्यमा गरेको अध्ययनले यसपटक वृद्धिदर आधाभन्दा बढीले घटेको देखिएको हो। मंगलबार सार्वजनकि प्रतिवेदनअनुसार यसपटक औषत वृद्धिदर पाँच दशमलव ०६ प्रतिशत मात्रै रहेको छ। वि.सं. २०६३ देखि २०६९ को विवरणमा वृद्धिदर औषत ११ दशमलव ३६ प्रतिशत थियो। नमूना सर्वेक्षणमा यसपटक मुलुकभर कूल एकलाख ३० हजार ४२४ प्रयोगकर्ता भेटिएका छन्।
वि.सं. २०६९ मा प्रयोगकर्ताको सङ्ख्या ९१ हजार ५३४ थियो। सङ्ख्यात्मक रुपमा भने पाँच वर्षमा ३८ हजार ८९० प्रयोगकर्ता थपिएका छन्। लागुऔषध प्रयोगकर्ताको सवालमा मुलुकमा गरिएको यस तेस्रो सर्वेक्षण हो। यसअघि विसं २०६३ र विसं २०६९ मा सर्वेक्षण गरिएको थियो। विसं २०६३ मा ४६ हजार ३०९ जना प्रयोगकर्ता थिए। वि.सं. २०७६ को कात्तिक र मङ्सिरमा प्रत्यक्षरुपमा प्रयोगकर्तालाई भेटेर पहिलो पटक प्रविधिको प्रयोग गरी तथ्याङ्क सङ्कलन गरिएको मन्त्रालयका लागुऔषध नियन्त्रण शाखाका प्रमुख झङ्कनाथ ढकालले जानकारी दिए।
नेपालमा लागुऔषध प्रयोगको ढाँचा, जोखिम र दुरुपयोगबाट हुने असर कम गर्नका लागि प्रमाणमा आधारित नीति तथ कार्यक्रम तर्जुमा गर्न यसरी अध्ययन गरिएको थियो। अप्रत्यक्ष गुणक विधिबाट ४३ जिल्लाका दुई हजार प्रयोगकर्तालाई भेटेर सर्वेक्षण गरिएको उनले बताए। विगतमा प्रतिदिन २१ जना प्रयोगकर्ता थपिने गरेको थियो। यसपटकको अध्ययनमा उक्त तथ्याङ्क घटेर प्रतिदिन १५ जना मात्रै प्रयोगकर्ता थपिने गरेका पाइएको अध्ययनमा सहभागी केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए।
यसपटकको अध्ययनमा प्रयोगकर्ताको उमेर, लिङ्ग, शिक्षा, प्रयोग गर्ने लागुऔषध, प्राप्त गर्ने श्रोत तथा सेवनको विधिजस्ता विषयसमेत प्रष्ट रुपमा देखाएको छ। प्राप्त विवरणअनुसार प्रयोगकर्तामध्ये एकलाख २१ हजार ६९२ (९३ दशमलव तीन प्रतिशत) पुरुष रहेका छन्। पुरुष प्रयोगकर्ताले एकान्त ठाउँलाई बढी रोज्ने गरेको पाइएको छ। एकाउन्न प्रतिशत एकान्त ठाउँमा गएर प्रयोग गर्ने गरेका छन्। पैँतिस प्रतिशत महिलाले एकान्त ठाउँ रोज्ने गरेको पाइएको छ।
कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले वृद्धिदर घटनु खुसीको कुरा भएको उल्लेख गर्दै अझै प्रयोग घटनाउन प्राप्त प्रतिवेदनको आधारमा नयाँ रणनीति र योजनाका साथ अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। मन्त्रालयका सहसचिव चत्रmबहादुर बुढाले लागुऔषध प्रयोग गम्भीर सामाजिक समस्या भएको उल्लेख गर्दै यसपटककको प्रतिवेदनले प्रयोग रोक्नआवश्यक नीति निर्माणका लागि सहयोग पुग्ने बताए।
‘टिन एज’ मै लागुऔषधको प्रयोग
लागुऔषध प्रयोगकर्ता ‘टिन एज’ अर्थात २० वर्षभन्दा कम उमेरमै पहिलोपटक प्रयोग गर्ने गरेको तथ्य खुलेको छ। प्रतिवेदनअनुसार शुरुमा गाँजाजन्य पदार्थबाट प्रयोग थालेको पाइएको छ। सबैभन्दा बढी प्रयोग गर्ने पदार्थसमेत गाँजा रहेको प्रतिवेदनमा उल्लेख छ। कूल मध्य ८८ प्रतिशतले पहिलो पटक गाँजा प्रयोग गरेका थिए। अधिकांशले सुँघ्ने पदार्थ पनि प्रयोग गर्ने गरेको पाइएको छ। उत्तेजनात्मक पदार्थ प्रयोग गर्नेमा ४६ प्रतिशत रहेको छ। उनीहरु मध्ये ८४ दशमलव सात प्रतिशतले गाँजा प्रयोग गर्ने गरको छन्। ७३ प्रतिशतले आनन्ददायक पदार्थ, ४६ दशमलव छ प्रतशतले अफिमजन्य पदार्थ प्रयोग गर्ने गरेको पाइएको छ।
प्रतिवेदनअनुसार बेरोजगार युवा बढी दुर्व्यसनमा फसेको पाइएको छ। कुल प्रयोगकर्तामध्य १५ देखि २९ वर्षका युवाले बढी लागुऔषध प्रयोग गर्ने गरेका छन्। त्यसमध्य ३९ दशमलव सात प्रतिशतले बेरोजगारीका कारण कुलतमा फसेको प्रतिक्रिया दिएका छ्न्। लागुऔषध प्रयोग गर्ने अन्यमा व्यापार गर्ने १५ दशमलव ९, दैनिक ज्यालादारीमा काम गर्ने १५ दशमलव छ, नोकरी गर्ने ११ दशमलव सात प्रतिशत रहेका छन्। अध्ययन गर्ने ८ दशमलव ७, वैदेशिक रोजगारी गर्ने ४ दशमवल १ प्रतिशतले लागुऔषध प्रयोग गर्ने गरेका छन्।
यसपालि प्रदेशगत रुपमा समेत प्रयोगकर्ताको सर्वेक्षण गरिएको छ। सर्वेक्षणको प्रतिवेदनअनुसार सबैभन्दा बढी वाग्मती प्रदेशमा प्रयोगकर्ता रहेको पाइएको छ। वाग्मती प्रदशेमा कूलमध्ये ३५ दशमलव छ प्रतिशत छन्। सबैभन्दा कम कर्णाली प्रदेशमा एक दशमलव चार प्रतिशत प्रयोगकर्ता छन्। गाँजाजन्य पदार्थ प्रयोग गर्दा उनीले रु ९२ खर्च गर्ने गरेका पाइएको छ। त्यसपछि सुँघ्ने पदार्थका लागि रु १२४, आनन्ददायक पदार्थका लागि रु ५७४, अफिमजन्य पदार्थका लागि रु ८६९, उत्तेजनात्मक पदार्थका लागि रु एक हजार ८९० र भ्रमात्मक पदार्थका लागि रु दुई हजार १९५ सम्म खर्च गर्ने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
सिरिन्ज साटासाट गर्दा रोग सङ्क्रमण
प्रतिवेदनमा सबैभन्दा बढी सिरिन्ज साटासाट गर्नेमा रोगको सङ्क्रमण बढी देखिएको छ। झण्डै ९३ प्रतिशतले सिरिन्ज साटासाट गर्दा एचआइभी, हेपाटाइटिसलगायत अन्य रोग सरेको पाइएको छ। सुईंको माध्यमबाट लागुऔषध प्रयोग गर्ने २९ दशमलव तीन प्रतिशत छन्। सबैभन्दा बढी साथीभाइको सङ्गत र लहैलहैमा प्रयोग गर्ने गरेको समेत फेला परेको छ। यसरी प्रयोग गर्नेमा ८४ दशमलव चार प्रतिशत रहेको छ।
प्रयोगकर्ताले लागुऔषध प्रयोगबाट मुक्त गर्नलाई रोजगारी सिर्जना गर्नुपर्ने र निःशुल्क उपचार सेवा दिनुपर्ने प्रतिक्रिया दिएका छन्। सर्वेक्षणअनुसार जीवनस्तरमा सुधार गर्न के गर्नुपर्छ भन्ने एउटा प्रश्नमा ४७ दशमलव दुई प्रतिशतले सरकारले रोजगारीको अवसर सिर्जना गर्नुपर्ने बताएका छन्। यस्तै ३६ प्रतिशतले सरकारले निःशुल्क उपचार सेवा दिनुपर्ने बताएका छन्। प्रयोगकर्तामध्ये ३९ दशमलव दुई प्रतिशतले सीमानाकाको निगरानी गरी आयातमा रोक लगाउनुपर्ने सुझाव पनि दिएका छन्।


























