काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ। कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार १६० पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै भारतमा कोरोना भाइरसबाट ४६७ जनाको मृत्यु भएको छ। कोरोना संक्रमितको संख्या पनि सात लाख नाघेको छ। अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या सात लाख १९ हजार ६६५ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका २२ हजार २५२ नयाँ संक्रमित फेला परेका हुन्।
भारतको सबैभन्दा प्रभावित क्षेत्र महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका दुई लाख ११ हजारभन्दा बढी संक्रमित फेला परिसकेका छन् भने नौ हजार २६ जनाको मृत्यु पनि भइसकेको छ। तामिलनाडुमा पनि एक लाख १४ हजारभन्दा धेरै संक्रमित भेटिँदा एक हजार ५७१ जनाको मृत्यु भएको छ। दिल्लीमा एक लाखभन्दा धेरै संक्रमित फेला परेका छन् भने तीन हजार ११५ जनाको मृत्यु भइसकेको छ।
उत्तर प्रदेशमा अहिलेसम्म २८ हजारभन्दा बढी संक्रमित फेला पर्दा ८०९ जनाको मृत्यु भएको छ। पश्चिम बंगालमा पनि २२ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ७७९ जनाको मृत्यु भएको छ। त्यस्तै बिहारमा १२ हजारभन्दा धेरै संक्रमित फेला पर्दा ९७ जनाको मृत्यु भएको छ। अहिलेसम्म भारतमा चार लाख ३९ हजार ९४८ संक्रमित निको भइसकेका छन्।


























