चितवन, असार १७ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर लामो समयदेखि कायममुकायम प्रमुखको भरमा सञ्चालन हुँदै आएको छ। उपकुलपति, रजिष्ट्रार, डिन लगायतको पदावधि सकिँदासमेत नियुक्त हुन नसक्दा विश्वविद्यालय कायममुकायमको भरमा सञ्चालन हुँदै आएको हो। विश्वविद्यालयको उपकुलपति गएको भदौ ६ गतेबाट रिक्त छ। रजिष्ट्रार माघ १२ र दुईवटा सङ्कायका डिन जेठ १ गतेदेखि खाली छ। कृषि र भेटेरिनरी सङ्कायका डिनको जिम्मेवारी सहायक डिनलाई कायममुकायम बनाएर दिइएको छ।
त्यस्तै आर्थिक प्रशासन महाशाखा प्रमुख, पाठ्यक्रम निर्देशक जस्ता महत्वपूर्ण अधिकारीहरु खाली छन्। विश्वविद्यालय सञ्चालन गर्ने कार्यकारी परिषद्को सात सदस्यमध्ये एकजना विधिवत् रुपमा रहेका छन्। अर्को व्यवस्था नभए सम्मका लागि तत्कालीन डिन शारदा थपलियालाई उपकुलपतिको जिम्मेवारी दिइएको छ। उनलाई दैनिक कार्य व्यवस्थापन गर्न मात्र जिम्मेवारी दिइएको हो।
थपलियाले पूर्ण जिम्मेवारी नपाउँदा दीर्घकालीन महत्वको काम गर्न नमिलेको र रजिष्ट्रार नहुँदा आर्थिक र प्रशासनिक काममा समस्या देखिएको बताए। हालै मात्र थपलियाले तलब भत्ताका लागि आर्थिक कारोवार सुरु गर्न थालेकाछन्। उनका अनुसार तलब भत्तालगायत अत्यावश्यक कामका लागि आर्थिक कारोवार सुरु गरिएको हो। विश्वविद्यालयको दैनिक गतिविधि सञ्चालन भएको भए पनि अन्य काम हुन सकेका छैनन्। विसं २०६७ असारमा सरकारले कृषि शिक्षाको अध्ययन, अनुसन्धान र प्रसारलाई एकीकृत रुपमा अघि बढाउन यस विद्यालय स्थापना गरेको हो। रासस


























