काठमाडौं, असार १६ । भारतले आफूलाई हटाउन थालेको प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति नेकपाका शीर्ष नेताहरुले जवाफ मागेका छन्। भारतले हटाउन थालेको भए त्यसको प्रमाण पेश गर्न प्रधानमन्त्री ओलीलाई वरिष्ठ नेताहरुले आग्रह गरेका हुन्।
पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसहित उपाध्यक्ष बामदेव गौतमले भारतले हटाउन थालेको भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति जवाफ मागेका हुन्।
पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले गत आइतबार बालुवाटारमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा आफूलाई भारतले हटाउन थालेको र त्यसमा मुलुकभित्रैका केही नेताहरु पनि सक्रिय रहेको अभिव्यक्ति दिएका थिए।
ओलीको यो अभिव्यक्तिको विपक्षी दलहरुसहित सत्तापक्षकै नेताहरुले आलोचना गरिरहेका छन्।
प्रधानमन्त्रीको यो अभिव्यक्तिले जनतामा निराशा पैदा गर्ने भएकोले वास्तविकतामा आधारित भए पुष्टि गर्न नेताहरुले आग्रह गरेका हुन्।


























