असार ९ । विश्वले अहिले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौती महामारी नभइ विश्वव्यापी एकताको अभाव र नेतृत्व रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बताएको छ।
डब्लुएचओका महानिर्देशक डा.टेडरोज आध्यनोम गेब्रेयेसोसले विभाजित भएर विश्वले कोरोना भाइरसविरुद्धको युद्ध जित्न नसक्ने बताएका हुन्।
भिडियो कन्फ्रेन्सको क्रममा उनले अहिलेको समय थप मजबुद र एकीकृत भएर संयुक्त प्रयास गर्नु पर्ने बेला रहेको बताए।
उनले विभाजित विश्व र नेतृत्वको अभावबारे बोल्ने क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम लिएनन्, तर उनको संकेत ट्रम्पसहितका नेताहरु तर्फ थियो।
डब्लुएचओका प्रमुख डा. टेड्रोस अड्हनोम गेब्रियेसुस
ट्रम्पले गएको महिना अमेरिकालाई डब्लुएचओबाट बाहिर निकाल्ने घोषणा गरेका थिए। अमेरिका डब्लुएचओको सबैभन्दा ठूलो दाता हो, उ नै बाहिरिँदा कोरोना भाइरसविरुद्धको अभियानमा गम्भीर धक्का लाग्ने भन्दै चासो र चिन्ता व्यक्त गरिएको छ।
तर ट्रम्पले भने डब्लुएचओ महामारी नियन्त्रणको नेतृत्व लिन असक्षम भएका तथा चीनको कठपुतली बनेको आरोप लगाउँदै अमेरिका बाहिरिने बताएका थिए।
डब्लुएचओका प्रमुखले बारम्बार महामारीविरुद्धको अभियानमा विश्वव्यापी एकता र संयुक्त प्रयासमा जोड दिने गरेका छन्।
यसैबिच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले कोभिड–१९ को महामारीका बेला अग्रपंक्तिमा गरेर सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीसहितलाई धन्यबाद दिएका छन्।
उनले भिडियो सन्देश मार्फत अग्रपंक्तिका सेवकहरुलाई धन्यबाद दिएका हुन्।
महासचिवले हरेक वर्ष जुन २३ मा मनाइने सार्वजनिक सेवा दिवसको अवसर पारेर दिएको सन्देशमा डाक्टर, नर्स, बस तथा रेलका चालक, शिक्षकसहितलाई सेवाका लागि धन्यबाद भनेका हुन्।


























