असार ६ । खासगरी अनुशासित जीवनशैली, स्वस्थ खानपानले मोटोपन नियन्त्रणमा सघाउ पुर्याउँछ। सुत्ने, उठ्ने, खाने तालिकालाई नियमित गर्नुपर्छ। यसरी अनुशासित र नियमित दिनचर्यामा आफूलाई अभ्यस्त गराएर मोटोपन नियन्त्रण गर्न सकिन्छ।
यदि मोटोपन घटाउने हो भने केही शर्त बनाउनुपर्छ। उक्त शर्त पालना गर्नुपर्छ। धेरै समय पर्दैन, एक महिना यो प्रयोग गरेर हेरौं। एक महिमा पक्कै पनि तपाईंको तौल नियन्त्रण हुनेछ।
पहिलो शर्त के भने, खानपानको तालिका व्यवस्थित गरौं। तर खानेकुरामा कटौती नगर्नुहोस्। बरु कुन समयमा के खाने र कति खाने भन्ने कुरा निर्धारण गरौं। सकेसम्म दिनमा चार वा पाँच पटक खाने गरौं। धेरै पटक खाँदा थोरै-थोरै खाइन्छ। यसले गर्दा खानेकुरा सजिलै पच्छ। बोसोको रुपमा जम्मा हुँदैन।
ब्रेकफास्ट नछुटाउनुहोस्। ब्रेकफास्ट लिएपछि ओभर डाइटबाट बचिन्छ। खानपानको तालिका मिलाउन सकिन्छ। खानेकुरामा दाल, भात, तरकारी सबै सामेल गरौं तर चिल्लो, मसलेदार, भुटेको, बोसोयुक्त खानेकुरा सेवन नगरौं। बजारमा पाइने जङ्कफुड, फास्टफुडजस्ता खाना बेवास्ता गरौं। गुलियो खानेकुरा, मिठाईबाट बचौं। सकेसम्म आफ्नै भान्सामा पाकेको स्वस्थ, तेलरहित खानेकुरा सेवन गरौं।
अझ सम्भव हुन्छ भने, उसिनेको खानेकुरामा जोड दिनुपर्छ। यो मोटोपन घटाउने प्रभावकारी उपाय हो। बिहान-बेलुकीको छाकमा उसिनेको तरकारी वा साग सेवन गरौं।
हरेक छाकको खानामा सलाद, हरियो सागपातलाई महत्व दिनुहोस्। खानामा अन्नको भन्दा सलादको मात्रा बढी होस्। सलाद भरपेट खानुहोस्। यसमा काँक्रा, गाजर, मुला, चुकन्दर हुन सक्छ। मुला सर्वोत्तम हुन सक्छ। यससँगै दिनमा एक पटक ताजा फलफूल सेवन गरौं।
पर्याप्त ग्रिन टी सेवन गरौं। दिनभरमा चार वा पाँच गिलास ग्रिन टी पिउनुहोस्। दिनभरि कम्तीमा तीन लिटर पानी पिउनुपर्छ। ताजा जुस, सर्वत पनि सेवन गर्न सकिन्छ। शरीरमा ठोस खानेकुराभन्दा पानीको मात्रा बढी हुनुपर्छ।
उठ्ने र सुत्ने तालिका निर्धारण गरौं। सम्भव भएसम्म राति चाँडै सुतौं, आठ वा नौ बजेभित्र। शरीरलाई स्वस्थ राख्न पर्याप्त निन्द्रा लिनुपर्छ। सात वा आठ घण्टा मस्त निदाउनुपर्छ। बिहान चाँडै उठौं। उठ्नसाथ मनतातो पानी पिउनुहोस्।
बिहान व्यायाम गर्ने, मर्निङवाक गर्नेजस्ता कुरालाई प्राथमिकतामा राखौं। बिहान कम्तीमा ४५ मिनेट व्यायाम गरौं। योग, ध्यान गर्न सके अझ राम्रो हुन्छ। दिनभर एकै ठाउँमा बसिरहने नगरौं। हिँडौं, लिफ्टको ठाउँमा भर्याङ उक्लिने गरौं।
अनुशासित जीवनशैली अपनाउने अभ्यास गरौं। सही समयमा खाने, सही समयमा सुत्ने, सही समयमा व्यायाम गर्ने, सही समयमा शौच क्रिया गर्ने अभ्यास गरौं।
























