चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको चारकिलोमा गएको पहिरोका कारण बुधबार बिहानैदेखि अवरूद्ध भएको बाटो राति करिब १० बजेपछि आंशिक रूपमा सञ्चालनमा आएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टका अनुसार राति अबेरसम्मको प्रयासपछि एम्बुलेन्स, माेटरसाइकल, कार, जीपजस्ता साना सवारीसाधन मात्रै छिर्ने गरी बाटो खुलाइएको छ। बिहान सवा चार बजे इच्छाकामना ६ चारकिलोमा ठूलो पहिरो झरेपछि दिनभरीको प्रयासमा करिब १५ घण्टापछि एकतर्फी सञ्चालनमा आएको बाटो आधा घण्टा नबित्दै फेरि अवरूद्ध बनेको थियो।

दिनभरी पाँचवटा मेसिनको प्रयोग गरेर पहिरो पन्छाए पनि साँझ पानी परेपछि हटाउन बाँकी रहेकै भाग बगेको थियो। जसकारण पुनः सडक अवरूद्ध भएको थियो। तर, राति अबेरसम्मको प्रयासपछि साना सवारीसाधन मात्रै प्रवेश गर्न मिल्ने गरी बाटो खुलाइएको प्रहरीले जनाएको छ। आंशिक रूपमै भए पनि बाटो खुलाएपछि केही साना सवारीसाधन आफ्नो गन्तव्यमा लागेका छन् भने बिहानैदेखि सडकमा रोकिएका मालवहाक साधन भने अझै पनि बाटोमै अलपत्र परेका छन्।

चारकिलो नारायणगढ–मुग्लिन सडकको सबैभन्दा बढी पहिरो जाने स्थान हो। यस सडक खण्डको कालिखोला, जलवीरेलगायतका स्थानलाई पनि पहिरोको उच्च जोखिमयुक्त क्षेत्र मानिन्छ। भौगोलिक बनोट कमजोर भएकोले पटक–पटक पहिरो खस्ने समस्याले यस सडक भएर यात्रा गर्ने जोकोहीलाई दुःख दिने गरेको छ। नारायणगढ मुग्लिन सडकको ३६ किलोमिटरको दूरीका नौ स्थानमा पहिरोको जोखिमयुक्त क्षेत्र छन्।


तस्बिर साैजन्यः दानबहादुर गुरुङ


























