काठमाडौं, जेष्ठ ३१ । सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको खर्च विवरण सार्वजनिक गरेको छ।
कोरोना नियन्त्रणमा आठ अर्ब ३९ करोड ११ लाख ९९ हजार खर्च भएको विवरण सार्वजनिक गरिएको हो।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको खर्च विवरण अनुसार क्वारेन्टाइनका लागि मात्रै १३ करोड ५५ लाख ९८ हजार खर्च गरिएको उल्लेख छ। पछिल्लो समय क्वारेन्टाइन मापदण्ड अनुसारको नभएको र सुरक्षित पनि नभएको भन्दै सरकारको आलोचना भइरहेको छ।
सरकारले औषधि स्वास्थ्य सामग्रीमा मात्रै ३ अर्ब ९० करोड ८८ लाख खर्च गरेको छ। स्वास्थ्य पूर्वाधारमा १ अर्ब १२ करोड ५० लाख, जनशक्ति परिचालनमा ५ करोड ८३ लाख ३३ हजार तथा अन्य शीर्षकमा ४० करोड १५ लाख ९ हजार खर्च गरिएको उल्लेख छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ अर्ब ५८ करोड ५२ लाख ८३ हजार खर्च भएको छ। तर, रक्षा मन्त्रालयबाट २ अर्ब ४० करोड २४ लाख ५७ हजार खर्च गरिएको छ।



























