काठमाडौं, जेष्ठ ३१ । नेपालको अद्यावधिक नक्सा संविधानको अनुसूचीमा राख्न सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयकमाथि आज प्रतिनिधिसभामा मतदान हुँदैछ।
प्रतिनिधिसभाको आजको कार्यसूचीमा संविधान संशोधन प्रस्तावमाथि छलफल गरेर मतदान गर्ने तयारी भएको हो।
कानूनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले दफावार छलफलका लागि प्रस्ताव गर्ने र छलफल सकिएपछि पारित गर्ने सम्भावित कार्यसूची रहेको छ।
सरकारले गत जेठ ९ गते संसदमा संविधान संशोधन विधेयक दर्ता गरेको थियो। नेपालको संविधानको अनुसूचीमा रहेको नेपालको निशान छापमा नेपालको अद्यावधिक नक्सा राख्नका लागि दर्ता भएको संशोधन विधेयकमाथि जेठ २७ गते सैद्धान्तिक छलफल सकिएको थियो।
नेपालको संसदीय इतिहासमै पहिलोपटक ८४ जना सांसदहरुले सैद्धान्तिक छलफलका क्रममा विधेयकका पक्षमा आफ्नो धारणा समेत राखेका थिए।
विधेयकमा सैद्धान्तिक छलफल सकिएर संशोधनका लागि निर्धारित ७२ घण्टाको समयभित्र समाजवादी पार्टीकी सांसद सरिता गिरीले संशोधन दर्ता गराएकी छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को विपक्षी दल जनता समाजवादी पार्टीले संस्थागत निर्णयमार्फत संविधान संसोधन विधेयकका पक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन्।


























