काठमाडौं, जेष्ठ २९ । नेपालमा थप एक जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा अर्घाखाँचीको मालारानी गाउँपालिका ४ का ५७ वर्षका पुरुष रहेका छन्। अस्पतालबाट घर फर्कदै गरेका उनको कोरोनाको संक्रमणबाट मृत्यु भएको हो।
जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक गणेशराज पौडेलका अनुसार घाँटीको शल्यक्रिया गरेका उनी स्वास प्रश्वासमा समस्या आएपछि उपचारका लागि मंगलबार जिल्ला अस्पताल सन्धिखर्कले प्रादेशिक अस्पताल बुटबल पठाएको थियो। तर अस्पताले भने घरमै आराम गर्न भनेपछि उनी घर फर्किएका थिए।
उनको घर फर्कदै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ। ब्याडापाटाको सार्वजनिक आधारभुत विद्यालयको क्वारेन्टीनमा बसेका उनको स्वाब परीक्षणका गर्दा रिपोर्ट पोजेटिभ आएको हो।
यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ। उनको कोरोनाका कारण मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाँकी रहेको छ।


























