चितवन । चितवनको कोभिड–१९ प्रयोगशालामा शुक्रबार र शनिबार संकलन भएका ३१० वटा नमुना परीक्षण गर्दा २३ जनामा कोरोना पुष्टि भएको छ। संक्रमितमध्ये दुईजना निजी अस्पतालका चिकित्सक रहेको भरतपुर अस्पतालले जनाएको छ। अन्य संक्रमितमध्ये चितवनका १७ जना, नवलपुरका ५ र धादिङका एक जना रहेको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले जानकारी दिए। संक्रमण पुष्टि हुनेमा बिरामीसमेत रहेका छन्।
उनका अनुसार भरतपुरको पुरानो मेडिकल कलेजमा उपचाररत दुईजना (२५ वर्षका पुरुष र ६६ वर्षकी महिला), वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत एकजना (राजविराजकी ६२ वर्षकी महिला) र नारायणी सामुदायिक अस्पतालको आइसियु कक्षमा उपचाररत एक जना (६८ वर्षका पुरूष)मा पनि संक्रमण पुष्टि भएको छ। संक्रमित बिरामीमध्ये नारायणी सामुदायिक अस्पतालमा उपचाररत भरतपुर ३ का ६८ वर्षिय पुरूषको अवस्था जटिल र स्थिर रहेको डा तिवारीले बताए।
अन्य संक्रमितमध्ये भरतपुर ६ र २१ का दुई महिला र दुई पुरुष, भरतपुर ४ की २१ वर्षिय महिलामा पनि संक्रमण पुष्टि भएको छ। माडी क्वारेन्टाइनमा रहेका ६ जना १४ वर्षका महिला, ४६, २८, २४, ४१ र २० वर्ष पुरूषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै नवलपुरको ६३ वर्षकी महिला, ३३, ३९, २१ र ५० पुरूष र धादिङ गजुरीकी ३२ वर्षकी महिलामा पनि संक्रमण पुष्टि भएको भरतपुुर अस्पतालले जनाएको छ।


























