वासिङ्गटन डिसी, जेष्ठ २५ । अमेरिकाको राजधानी वासिङ्गटन डिसीमा रंगभेद र प्रहरी बरबर्ताको विरोधमा दशौँ हजार मानिसले प्रदर्शन गरेका छन्।
मिनेशोटाको मिनियापोलसमा निहत्था अश्वेत व्यक्ति जर्ज फ्लोइडको प्रहरी हिरासतमा मृत्यु भएको विरोधमा सुरु भएको प्रदर्शनले संस्थागत रुपमा रहेको रंगभेद र प्रहरी बरबर्ता विरोधी आन्दोलनको रुपमा लिएको छ। अमेरिकामा लगातार १२ दिनदेखि प्रदर्शन भइरहेको हो।
फ्लोइडको गएको मे २५ मा निधन भएको थियो। उनलाई स्थानीय प्रहरी अधिकारीले पक्राउ गर्ने क्रममा घुँडाले घाँटीमा लगातार झण्डै नौ मिनेट थिचेका थिए।
फ्लोइडले ‘मैले सास फेर्न सकिरहेको छैन’ भन्दा पनि प्रहरी अधिकारीले घाँटीबाट घुँडा हटाएका थिएनन्। त्यसको केही समयपछि फ्लोइडको मृत्यु भयो।
सो घटनाको भिडियो सार्वजनिक भएपछि अमेरिकासहित विश्वभर रंगभेद विरुद्ध प्रदर्शन भइरहेको छ। प्रदर्शनको क्रममा केही स्थानमा लुटपाट, तोडफोड तथा आगजनी भए पनि अधिकांश रुपमा शान्तिपूर्ण छ। तर शान्तिपूर्ण प्रदर्शनमै पनि सत्ताको बलमा प्रहरीले ज्यादती गरेको भन्दै तीव्र आलोचना भइरहेको छ।
वासिङ्गटको लिंकन मेमोरियल र लाफयेत्ती पार्कमा मानिसहरु भेला भएका हुन्। सुरक्षाकर्मीले प्रदर्शनकारीलाई नजिकै रहेको राष्ट्रपति कार्यालय ह्वाइट हाउस तर्फ जान दिएनन्। प्रदर्शनकारीले त्यहिँ नारा लगाएका हुन्।
यसैबिच फ्लोइडको जन्मभएको नर्थ क्यारोलाइनामा मानिसहरु भेला भएर स्मृतिसभा गरेका छन्। त्यहाँ पनि प्रदर्शन भएको छ।
अमेरिकासहित अरु देशमा पनि रंगभेदविरुद्ध प्रदर्शन भएको छ। बेलायतमा पनि हजारौँ मानिस सहभागी भएर प्रदर्शन गरेका हुन्। मध्य लण्डनको पार्लियामेन्ट स्क्वायरमा मानिसहरु भेला भएर ‘ब्ल्याक लाइफ म्याटर्स’ अभियानमा ऐक्यवद्धता जनाएका हुन्।
बेलायत सरकारले कोरोना भाइरसको महामारी फैलिन सक्ने भएकाले ठूलो संख्यामा भेला नहुन भने पनि मानिसहरु त्यसलाई तोडेर प्रदर्शनमा उत्रिएका हुन्।
यसैगरी अस्ट्रेलियामा पनि प्रदर्शन भएको छ। सिड्नी, मेलबर्न र ब्रिसबेनसहितका शहरमा प्रदर्शन भएको हो।


























