काठमाडौं, जेष्ठ ११ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वका विभिन्न देशमा रहेका ११७ जना नेपालीको ज्यान गएको छ।
एनआरएनएको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार यो हप्ता थप २१ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएसँगै शनिबार बेलुकासम्म ज्यान गुमाउनेको संख्या ११७ पुगेको हो।
तथ्यांकअनुसार यो हप्ता युएईमा ९, साउदी अरेबियामा ५, बेलायतमा २, नेपालमा २, अमेरिकामा १, कतारमा १ र कुवेतमा १ जना नेपालीको ज्यान गएको हो।
एनआरएनएको स्वास्थ्य समिति संयोजक डा.सञ्जीव सापकोटाका अनुसार सबैभन्दा बढी बेलायतमा ६५ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ। यस्तै संयुक्त अरब इमिरेट्समा १८ जना नेपालीले ज्यान गुमाएका छन्।
अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउने नेपालीको संख्या १६ पुगेको छ। साउदी अरेबियामा ७, नेपालमा ३, कतारमा १, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्वीडेनमा १, कतारमा १ र कुवेतमा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ९५ पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जनाएको छ।























